अन्तर्राष्ट्रिय

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो।

युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन्। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफुलाई विश्वास नभएको बताएका थिए। उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिएका थिए।

रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता भएको हो। वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो। रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो। रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७८ ०९:४९ सोमबार

युद्धरत युक्रेन र रुस