अन्तर्राष्ट्रिय

युक्रेन तनाव: जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गर्‍यो

जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको छ। युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई यूक्रेन छोड्न जर्मनीले शनिबार निर्देशन दिएको छ।

तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो।विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यूक्रेनी सीमा नजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ।”

“हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस्। यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि यूक्रेनी भूगोल छोड्नुहोस्।” यस्तै अष्ट्रेलियाले पनि युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन्। रुसले युक्रेनसँगको सिमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दावी छ।

“युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ,” प्रधानमन्त्री मोरिसनले भनेका छन्।

उनले युक्रेनमा अशान्ति नहोस भन्ने आफुले चाहेको भएपनि द्वन्द्वको अवस्था सृजना हुने खतरा देखिएको उल्लेख गरेका छन्। युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ।

यसअघि रुसी हमलाको जोखिम बढेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरिसकेका छन्।

प्रकाशित: २९ माघ २०७८ १३:१३ शनिबार

जर्मनी अष्ट्रेलिया युक्रेन युक्रेन तनाव नागरिक