अन्तर्राष्ट्रिय

म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने

म्यानमारका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई आसियानको शिखर सम्मेलनमा सहभागी नगराइने भएको छ। दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान)ले म्यानमारका सेना प्रमुखलाई बैठकमा सहभागी नगराउने भएको हो।

आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनेईमा आसियान शिखर बैठक हुँदैछ। सेना प्रमुखको सट्टामा अन्य गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियानले सहमति गरेको छ।

आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ। आसियानमा १० सदस्यीय राष्ट्र रहेका छन्।  

फेब्रुअरीमा सेनाले सत्ता हातमा लिए यता म्यानमारभर प्रदर्शनहरू भएका छन्। सुरक्षा फौजहरूले गरेका निर्मम दमनमा १ हजार भन्दा बढी मारिएको र ६ हजार भन्दा बढीलाई थुनामा लिइएको एक निकायले जनाएको छ। सेनाले म्यानमारका नागरिकलाई दमन गर्दै आएको भन्दै विरोध भइरहेको छ।

प्रकाशित: ३१ आश्विन २०७८ ०४:३९ आइतबार

एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) म्यानमारका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङ