अन्तर्राष्ट्रिय

अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा छ: तालिबानका प्रवक्ता

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन्। उनले चीनसँग युद्धग्रस्त देशको पुनर्निर्माण गर्न मदत मागेका छन्।  

इतालवी प्रकाशन ला रिपब्लिकामा शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा मुजाहिदले भने, ‘चीन हाम्रो सबैभन्दा राम्रो साझेदार मुलुक हो। हाम्रो लागि त्यो मौका दिइरहेको छ। चीन अफगानिस्तानमा लगानी र निर्माणका लागि तयार छ।’

३१ अगस्टसम्म अफगानिस्तानबाट सबै विदेशी सैनिक बाहिरीसकेका छन्। यसैबीच तालिबानले सरकार निर्माण प्रक्रिया पनि अगाडि बढाई रहेको छ। अफगानिस्तान पछिल्लो समय आर्थिक र खाद्य संकटको सामना गरिरहेको छ।  

मुनाहिदले चीनको न्यू सिल्क रोडबाट अफगानिस्तानको फाइदा हुने बताए। उनले भने, ‘न्यू सिल्क रोड वा वान बेल्ट–वन रोडबाट चीन, अफ्रीका, एशिया र यूरोपलाई जोडिने छ। जसबाट नेटवर्क पोर्ट्स , रेलवे, रोड र इन्डस्ट्रियल पार्क निर्माण गरिने छ।’  

अफगानिस्तानमा तामाको पर्याप्त भण्डारण रहेको छ। जसको उत्खनन गरेर चीन निर्यात गर्न सक्ने प्रवक्ताको भनाइ छ।  

फरक प्रसंगमा तालिबानका प्रवक्ता मुजाहिदलले महिलालाई विश्वविद्यालय जाने अनुमति दिने बताए। नर्स र प्रहरी सेवामा समेत महिलालाई काम गर्ने अनुमति दिने भनेका मुजाहिदले मन्त्रालय भने नदिने बताए।

प्रकाशित: १८ भाद्र २०७८ ०९:२२ शुक्रबार

आर्थिक भविष्य तालिबानका प्रवक्ता