अन्तर्राष्ट्रिय

निर्वासनअघि नै एक्लिएका थिए घानी

अफगानी राष्ट्रपति असरफ घानीले आइतबार जसरी देश छाडे, पछिल्ला वर्ष उनको शासन पनि उस्तै थियो– नितान्त एक्लो र अलग । आफ्ना केही विश्वासपात्रसहित आइतबार उनले राष्ट्रपति कार्यालय छाडे । शान्तिपूर्वक सत्ता हस्तान्तरण प्रक्रियामा लागिपरेका अन्य राजनीतिक नेतालाई यसको सुइँकोसम्म थिएन ।

घानीका सर्वकालिक प्रतिद्वन्द्वी अब्दुला अब्दुला भन्छन्, ‘राजधानी छाडेकोमा भगवान्ले उनलाई जवाफदेही बनाउनेछन् ।’ घानी ठ्याक्कै कहाँ छन् भनेर यकिन छैन। अज्ञात स्थानबाट सामाजिक सञ्जालमा जनताको रक्षाका लागि आफूले देश छाडेको दाबी उनले गरेका छन्। ‘म बसिरहेको भए असंख्य मानिस सहिद हुन्थे। काबुलले ठुलो नोक्सानी बेहोर्नुपथ्र्याे र ६० लाख मानिसलाई मानवीय संकट आइलाग्न सक्थ्यो,’ उनले लेखेका छन्। अब्दुलामात्र होइनन्, पूर्वराष्ट्रपति हमिद कारजाईले घानीलाई कैयौंपटक सत्तामा रहिरहने विषयमा पुनर्विचार गर्न भनेका थिए। उनीहरू दुवै घानीको अकस्मात् बहिर्गमनले अवाक् बनेका छन्। तर दुवैजना सत्ताको छिनोफानो शान्तिपूर्ण हुनेमा ढुक्क रहेको टोलो टेलिभिजनका प्रवद्र्धक साद मोहसेनी ठान्छन्। ‘उनले यी दुवैलाई यत्तिकै छाडेका छन्,’ मोहसेनी भन्छन्। त्यसो त आफ्नो फेसबुक पेजमा कारजाईले आफ्ना तीनवटै छोरीसँग बसेको फोटो राखेर यसअघि भनेका थिए, ‘नेतृत्वसँग योजना छन् र तालिबानसँग सम्झौता जारी छ। काबुलवासी आश्वस्त भए हुन्छ।’

तर यो भनाइ पोस्ट भएको केही घन्टामै कारजाईले राष्ट्रपति भवन खाली भइसकेको जानकारी पाएका थिए। ‘देशलाई एक राख्न असफल घानी पश्चिमी राष्ट्रमा पढेका केही बुद्धिजीवीको घेरामा रहँदा अफगानिस्तानको यो हालत भयो,’ अमेरिकामा रहेको अनुसन्धान संस्था फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीका वरिष्ठ फेलो बिल रोगियो भन्छन्। त्यसो त घानीको नेतृत्व शैली पनि झगडालु पाराको र अभिमानले भरिएको धेरैले ठान्छन्। उनले आफ्नेै सरकारको सुझावलाई स्वीकार नगरेका र आफूलाई चुनौती दिनेलाई अपशब्द बोलेका धेरै उदाहरण छन्। अल्पसंख्यकहरू उनले पास्तुन्सको बढी समर्थन गरेको र तालिबानको प्रतिद्वन्द्वीका रूपमा आफूलाई उभ्याउने गरेको बताउँछन्। चाखलाग्दो के छ भने अधिकांश तालिबान त्यही जातीय समूहबाट आएका थिए। घानीले अधिकांश जातीय समूहलाई अलगथलग पारेका थिए र यी जातीय समूहबीचको आपसी सम्बन्ध अत्यन्त कमजोर बन्न पुगेको थियो।

सन् २०१४ मा राष्ट्रपति पदका लागि प्रत्यासी बनेका बेला उनी रिस व्यवस्थापन कोर्स पढ्दै थिए। अधिकांश अल्पसंख्यक समूहका नेताले राष्ट्रपतिसँगको भेटघाटमा अपशब्द बोलेको र गाली गरेको सम्झन्छन्।

‘उनी सत्ताच्युत हुनुमा उनको शक्ति केन्द्रीकरण गर्न खोज्ने चाहना र आफ्नो छत्रछायामा अधिकांशलाई समेट्न नसक्नु हो’, अमेरिकामा रहेको विल्सन सेन्टरका उपनिर्देशक माइकल कुगेलम्यान ठान्छन्। ‘पछिल्ला दिनमा तालिबान विद्रोहलाई सम्बोधन गर्ने प्रस्ट रणनीति नहु“दा र शान्तिप्रक्रियाको बाधकका रूपमा समेत चित्रण गरिँदा सबैभन्दा बढी घाटा घानीले बेहोर्नुपरेको छ,’ उनी थप्छन् । सन् २००२ मा अफगानिस्तान फर्कनुअघि घानीले धैरे समय विदेशमा विद्यार्थी र प्राज्ञका रूपमा बिताएका थिए ।

जतिबेला घानी अफगानिस्तान आए, उनीसँग अर्थतन्त्रको सुदृढ अनुभव थियो । विश्व बैंकसँग काम गरेको अनुभवका कारण अफगानिस्तानको कमजोर र भ्रष्ट अर्थतन्त्र सुधार्न उनी सफल हुने अपेक्षा थियो । सन् २००४ अघिका दुई वर्षसम्म उनले अर्थमन्त्रीको कार्यभारसमेत सम्हालेका थिए। यसैगरी उनी क्यान्सर रोगबाट बाँच्न सफल व्यक्तिमा पनि गनिन्छन् । सन् २०१४ मा उनी पहिलोपटक राष्ट्रपति पदको प्रत्यासी रहेका थिए । तर चुनावमा व्यापक धाँधली भएको र चुनावी प्रक्रिया नै त्रुटिपूर्ण रहेको आरोप उनले लगाएका थिए । उनी र उनका प्रतिद्वन्द्वी अब्दुला अब्दुला दुवैले विजयी भएको दाबी गरेका थिए। अन्ततः अमेरिकाले दुवैलाई शक्ति बाँडफाँटका लागि मध्यस्तकर्ताको भूमिका खेलेको थियो र कार्यकारी प्रमुख (चिफ एक्जुक्युटिभ) भन्ने नयाँ पदसमेत सिर्जना गरिएको थियो । सन् २०१९ मा पनि त्यही दृश्य दोहोरिएको थियो र दुवैले विजयी भएको दाबी गरेका थिए। महिनौंसम्मको विवादपछि अब्दुला नेसनल रिकन्सिलेसन काउन्सिलको प्रमुख नियुक्त भएका थिए । अफगानिस्तानका राजनीतिक नेतालाई एक ठाउँमा ल्याएर तालिबानसँग वार्ता गर्नु यो काउन्सिलको जिम्मेवारी थियो । तर घानीको कार्यशैलीले उनलाई कमजोर पारेको थियो।

उनी सानो घेराका यस म्यानसँग बढी भर परेको थिए र देशको समग्र स्थितिबारे जानकारी लिन उनी तीनै सीमित व्यक्तिसँग राय लिन्थे,’ अफगान सरकारका पूर्वसल्लाहकार टोरेक फरादी तर्क गर्छन्। उनी थप्छन्, ‘अन्यले उनको अगाडि सत्य बोल्ने साहस गर्दैनथे र उनले सरकार तथा सैनिक प्रमुखमा यसअघिका अनुभवीलाई स्थान नदिएर नयाँ र थोरै अनुभव भएका व्यक्तिलाई अगाडि सारेका थिए । अफगानिस्तानजस्तो परम्परागत राष्ट्रमा उनी माथिबाट शासन गर्न चाहन्थे।’

सन् २०१६ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग वार्ता सुरु गरेपछि घानीलाई अमेरिकाका शान्तिदूत जाल्मे खलिलजादले बलियो संयुक्त टोली गठन गर्न भनेका थिए तर त्यो प्रयास त्यति सफल हुन सकेन । यसैगरी अप्रिलमा अमेरिकाका विदेशमन्त्री अन्टोनी ब्लिनकेनले घानीलाई संयुक्त धारणा बनाउन, आफ्नो घेरा विस्तार गर्न र समावेशी हुन भनेका थिए । ‘एकता र समावेशिताले कठिन चुनौतीलाई समाधान गर्न सहयोग पुग्ने देखिन्छ,’ ब्लिनकेनले भनेका थिए । उनको चेतावनी थियो, ‘अमेरिकाले आफ्नो सैनिक फिर्ता गरेपछि अफगानी सैनिकलाई निरन्तर वित्तीय सहयोग गरे पनि सुरक्षा स्थिति बिग्रने र तालिबानले तीव्र रूपमा क्षेत्रीय लाभ लिन सक्ने देखिन्छ।’

 

प्रकाशित: १ भाद्र २०७८ ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App