अन्तर्राष्ट्रिय

तालिवान लडाकु काबुल नजिकै

तालिवान लडाकुले अफगानिस्तानका प्रमुख सहर तथा प्रान्त आफ्नो कब्जामा लिएपछि राजधानी काबुलको प्रवेशद्वार मानिने दक्षिणी सहरसमेत कब्जामा लिएका छन्। अफगानिस्तानमा रहेका विदेशी सैनिक फिर्ता भएपछि तालिवान एकपछि अर्काे सहर कब्जा गर्दै अगाडि बढेका छन्। शनिबार अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले स्थानीय नेता तथा अन्तर्राष्ट्रिय साझेदारसँग आकस्मिक वार्ता गरेका छन्। अफगानी सरकारलाई सहयोग गरेका अमेरिका तथा अन्य देश आफ्ना दूतावासमा रहेका कर्मचारीको उद्धारमा जुटेका छन् भने कतिपय अफगानी नागरिक आफ्नो सुरक्षाका लागि काबुल पुगेका छन्।

‘राष्ट्रपतिको नाताले अहिले मेरो ध्यान थप अस्थिरता, हिंसा र आम नागरिकको विस्थापन रोक्नमा छ,’ टेलिभिजनमा दिइएको एक सन्देशमा राष्ट्रपति घानीले भनेका छन्। उनले सरकार, प्रबुद्ध नागरिक, राजनीतिक नेता तथा अन्तर्राष्ट्रिय नेतासँग परामर्श गरिरहेको समेत बताए। तालिवान समूहको वार्ताका लागि घानीको राजीनामाको सर्त राखे पनि राष्ट्रपतिले त्यसबारे कुनै प्रतिक्रिया दिएनन्। उनले देश र सुरक्षाकर्मीको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए। ‘यो आक्रमणलाई रोक्न गम्भीर हिसाबको उपाय अवलम्बन गरिँदैछ,’ उनले भने। 

तर त्यो उपाय के हुने भन्ने उनले प्रस्ट पारेनन्। काबुलको ७० किलोमिटर दक्षिणमा रहेको लोगार प्रान्तको राजधानी पुलेआलम लडाकुको कब्जामा परेलगत्तै राष्ट्रपति घानीले टेलिभिजनमा सम्बोधन गरेका थिए। यो सहर कब्जा गरेपछि काबुलमा गरिने सम्भावित आक्रमणका लागि तालिवान लडाकुका लागि सजिलो हुने मानिएको छ। लडाकुले काबुलनजिकै रहेको अर्काे सहर मैडान सहिरलाई पनि कब्जा गर्न लागिएको बताएका छन्।

यसैबीच आफ्नो राजदूतावासका कर्मचारी र अन्य नागरिकलाई उद्धार गर्न अमेरिकी सैनिक काबुलतर्फ गएको एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताएका छन्। पेन्टागनले ३ सय अमेरिकी सैनिक आइतबार साँझसम्म काबुल पुग्ने बताएको छ। यसैगरी तत्काल सैनिक परिचालन गर्न आवश्यक परे त्यसो गर्न अमेरिकी सैनिकको एक टोली कुवेतमा तैनाथ गरिएको छ। बेलायतलगायत अन्य पश्चिमी राष्ट्रले पनि निकट भविष्यमा काबुलमा आक्रमण हुन सक्ने आशंकामा सैनिकहरू काबुल पठाउन लागेका छन्। शुक्रबार तालिवानले अफगानिस्तानका दक्षिण क्षेत्रमा रहेको सबैभन्दा ठूलो सहर कान्दहार कब्जामा लिएका थिए। यसैगरी इरानको सीमानजिक रहेको अर्काे सहर हेरात पनि लडाकुले कब्जामा लिइसकेका छन्।  

तालिबान लडाकुले कान्दहार सहर कब्जा गर्नु अफगानी सरकारका लागि ठूलो नोक्सानी मानिएको छ। अमेरिकाका एक सैनिक अधिकारीले केही दिनमा काबुलमा आक्रमण हुन सक्ने बताएका छन्। तर पेन्टागनका प्रवक्ता जोन किर्बीले तत्काल काबुल आक्रमण नहुने तर काबुललाई अलग गर्ने तालिबान लडाकुको रणनीति रहेको हुन सक्ने बताए।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तामा स्थिति नियन्त्रणबाहिर जान सक्ने बताउँदै सम्बन्धित पक्षलाई नागरिकको सुरक्षा गर्न आह्वान गरेका छन्। ‘यो आक्रमण रोकेर गम्भीर वार्ता सुरु गर्ने बेला हो,’ उनले पत्रकारसँग कुरा गर्दै न्युयोर्कमा भने। तालिबान लडाकुको सम्भावित आक्रमणको त्रासले राजधानी काबुलका सर्वसाधारणले चामल र अन्य खाद्य पदार्थ एवं प्राथमिक उपचारका सामग्रीको भण्डार गरेर राख्न थालेका छन्। 

यसैगरी काबुल छाड्न चाहने हजारांैले सम्बन्धित राजदूतावासमा आवेदन दिएका छन्। अफगानिस्तानमा भइरहेको यो आक्रमणले शरणार्थी संकट आइपर्ने र महिलाहरूको मानवअधिकारमा भएका पछिल्ला प्रगतिलाई चुनौती थपिने मानिएको छ। यो वर्ष मात्रै ४ लाख सर्वसाधारण आफ्नो घर छाड्न बाध्य भएका छन् भने गत मे महिनायता मात्रै यो संख्या २ लाख ५० हजार रहेको छ।

क्यानडाले महिला नेतासहित जोखिममा रहेका अन्य २० हजार अफगानीलाई आफ्नो देशमा पुनर्वास सुविधा दिने घोषण गरिसकेको छ। अफगानी सरकारले काबुलबाहेक उत्तरमा रहेको मजारी सरिफ र जलालावाद सहरमा भने आफ्नो प्रभुत्व कायम राखेको छ। विगत दुई दशकमा अमेरिकाले अफगानिस्तानमा एक ट्रिलियन अमेरिकी डलर खर्च गरिसकेको र हजारै अमेरिकी सैनिकलाई गुमाएका बताउँदै यो समस्या समाधान गर्न अफगानी सरकार र सैनिक अगाडि बढ्नुपर्ने बताएको छ। अमेरिकामा भएका पछिल्ला मत सर्वेक्षणले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने वर्तमान राष्ट्रपतिको अडानलाई सर्वसाधारणको समर्थन रहेको देखिएको छ।

प्रकाशित: ३१ श्रावण २०७८ ०२:२० आइतबार

तालिवान लडाकु अफगानिस्तानका प्रमुख सहर आफ्नो कब्जामा लिएपछि