अन्तर्राष्ट्रिय

बेइजिङले कोभिड प्रभावित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ।

ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ। बेइजिङका अधिकारीहरुले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र सङ्केत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ।

स्वास्थ्य सङ्केत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ । चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो सङ्केत हुनुु जरुरी हुनेछ।

चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो।  

चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाब देखिएको छ। बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता सङ्क्रमित भेटिएका र सङ्क्रमित रहेको १५ शहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ।  

यसैबीच, नयाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ।

रासस

प्रकाशित: २४ श्रावण २०७८ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App