अन्तर्राष्ट्रिय

अमेरिकामा सिटी काउन्सिलमा नेपाली टिका पौडेल विजयी

अमेरिका, टेक्ससस्थित युलेस सिटी काउन्सिल मेम्बरका लागि भएको चुनावमा नेपाली मुलका टीका पौडेल विजयी भएका छन्।

नेपालीहरुको बसोवास रहेको सो सिटीमा शनिबार राति सम्पन्न मतगणनामा पौडेलले प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बरमा निर्वाचिच भएका हुन्।

सिटी काउन्सिल मेम्बरले स्थानीय विकास निर्माण, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा नीति निमार्णका काम जिम्मेवारी हुन्छ।

निर्वाचित भएलगत्तै उनले नेपाली समुदायका मुद्दाहरु सिटीमा उठाउने बताए । उनले निःशुल्क प्रिस्कुल, खानेपानी, सडक सुधार, पार्कलगायतका मुद्दा उठाउने पनि बताए।

अघिल्लो महिना मे १ मा भएको पहिलो चरणको निर्वाचनमा उम्मेदवारले ५० प्रतिशत मत पाउन नसकेपछि रनअफ राउण्डमा चुनाव भएको हो। रनअफको प्रावधानअनुसार बढी मत पाउने दुई जनाबीच पुनः चुनाव गरिएको हो।

युलेस सिटी नेपालीको ठूलो जनसंख्या रहेको स्थान हो। युलिस सिटीमा करिब ८ हजार नेपालीको बसोवास रहेको अनुमान छ। तर, नेपाली अमेरिकन मतदाता भने करिब ६ सय थिए। उनलाई डेमोक्रेटिक पार्टी, एसिएन अमेरिकन र अफ्रिकन अमेरिकनको सहयोग थियो।

पौडेल अमेरिकामा सिटी काउन्सिलमा निर्वाचित हुने चौथो नेपाली हुन्।  यसअघि यसैगरी अन्य राज्यहरुबाट किरण सिटौला, प्रदिप ढकाल, सुर्दसन प्याकुरेल निर्वाचित भई सकेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७८ १३:५० आइतबार

अमेरिका अमानवीय व्यवहार