अन्तर्राष्ट्रिय

बङ्गलादेशमा एकैदिनमा अहिलेसम्मकै धेरै काेराेना सङ्क्रमित

बङ्गलादेशमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ।  

महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन्। स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १ सय ८१ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ।

यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च ८ मा कोरोनाभाइरसको महामारी सुरुभएदेखिकै सबैभन्दा धेरै भएको उनीहरूको भनाइ छ। बङ्लादेशका कोरोनाभाइरसबाट अहिलेसम्म कूल छ लाख ८९५ जना सङ्क्रमित भएका छन् भने आठ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ। 

मृत्यु भएकामध्ये सोमबार मात्रै ४५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २८ हजार १ सय ९५ जनाको कोरोना परीक्षण गरिएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म बङ्लादेशमा पाँच लाख ३८ हजार १८ जना सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये सोमबार मात्रै दुई हजार ७७ जना सङ्क्रमणमुक्त भएका हुन्। 

प्रकाशित: १७ चैत्र २०७७ ०१:२२ मंगलबार

बङ्गलादेश काेराेना सङ्क्रमित