अन्तर्राष्ट्रिय

नेतृ आङ सान सुकी एक महिनापछि देखापरिन्

म्यान्मारमा सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकी करिब एक महिनापछि पहिलो देखिएकी छिन्। उनी सोमवार भिडिओ लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।  

उनीमाथि विनाअनुमति वाकीटकी सेट आयात गरेको, कोभिडसम्बन्धी प्रतिबन्धहरू पालना नगरेको र डर पैदा गर्न सक्ने सूचना प्रकाशित गरेको विविध आरोपहरु लगाइएको छ। आइतवार मात्रै म्यान्मारमा हिंसात्मक बनेको प्रदर्शनमा प्रहरीको गोलीबाट १८ जनाको ज्यान गएको छ। आज सोमबार समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्।  

म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा तत्कालीन राष्ट्रपति र आङ सान सुकीको नेतृत्वमा रहेको सरकार अपदस्थ गरी सैनिकले सत्ता हातमा लिएको थियो। सेनाले राष्ट्रपति र सुकी दुवैलाई नजरबन्दमा राखेको छ भने सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीका कैयौं नेतालाई गिरफ्तार गरेको छ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:२३ सोमबार

बर्मेली नेतृ आङ सान सुकी म्यान्मार सैनिकले सत्ता हातमा लिएको