अन्तर्राष्ट्रिय

सोमालियाली राजधानीमा सशस्त्र द्वन्द्व, संयुक्त राष्ट्रसंघद्वारा शान्तिको लागि आग्रह

संयुक्त राष्ट्र संघले शुक्रबार सोमालियाको राजधानी मोगादिशुमा भएको सशस्त्र द्वन्द्वले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ। सरकारविरूद्धको प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षा बलले गोली चलाएपछि भएका शसस्त्र झडपपछि राष्ट्रसंघले सबै पक्षलाई शान्त र संयम रहन आग्रह गरेको हो।  

संयुक्त राष्ट्र संघले दुबै सरकार र विपक्षी राष्ट्रपति पदका उम्मेद्वारहरूलाई देशको तनाव कम गर्न सहयोग पुर्‍याउन संवादको पहल गर्नसमेत आग्रह गरेको छ। सोमालियास्थित राष्ट्र संघीय कार्यालयले भनेको छ, 'मोगादिसुमा भएको झडपले गत वर्षको सेप्टेम्बर १७ मा सहमति भएको निर्वाचन नमूनाको कार्यान्वयनसम्बन्धी राजनीतिक सम्झौतामा पुग्न संघीय सरकार र संघीय सदस्य राज्य नेताहरू एकजुट हुनुपर्ने आवश्यकतालाई जोड दिन्छ।'  

मोगादिशुको सडकमा दुबैपक्षबीच सशस्त्र झडप र विस्फोटका घटनाहरू भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा बल र प्रदर्शनकारीहरूबीच राष्ट्रिय निर्वाचनलाई पछि सार्ने विषयमा कुरा नमिल्दा झडप भएको हो।  

सोमाली सूचना, संस्कृति र पर्यटन मन्त्री उस्मान दुब्बेले भने, 'सशस्त्र लडाकूले शुक्रबार बिहान १ बजे सुरक्षा चौकीमा आक्रमण गरेको थियो। त्यसपछि सेना र लडाकू समूहबीच ब्यापक गोली हानाहान भएको थियो।'

सरकारले नियोजित जुलुस सुरू हुनुभन्दा अघि नै प्रदर्शनकारीमाथि गोली चलाएको विपक्षीहरूको दावी छ।पूर्व राष्ट्रपतिहरु हसन शेख मोहम्मद र उनका पूर्ववर्ती शरीफ शेख अहमदको नेतृत्वमा राष्ट्रपति पदका उम्मेद्वार परिषद्ले उक्त घटनाको भत्र्सना गरेका छन्। 

प्रकाशित: ८ फाल्गुन २०७७ ०१:४२ शनिबार