अन्तर्राष्ट्रिय

सुनखानीभित्र फसेका ११ जनाको सकुशल उद्वार

चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्वारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन्। यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन्। खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्वारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रशारण संस्था सिसिटिभीले जनाएको छ।

स्थानीय समय अनुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिम पटक दुई जना मजदूरलाई बाहिर निकालिएको थियो। यो सहित उद्वार गरिएकाको संख्या ११ पुगेको छ। हाल उद्वार अभियान सञ्चालनका लागि ६ सय ३३ जना उद्धारकर्मी र ४सय ७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ। खानीभित्र करिब ६सय मिटरको गहिराईमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए। यो खानीस्थल पूर्वी शाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ।

आइतबार अघिसम्म उद्वारकर्ताहरुले खानीभित्र फसेका १० जना मजदूरसँग मात्र सम्पर्क स्थापना गर्न सफल भएका थिए।उद्वारकर्ताहरुले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए। खानीभित्र हराइरहेका अरु व्यक्तिको खोजी एवं पहिचान गर्नका लागि डिटेक्टर र पोषक तत्वहरु पनि पठाइएको छ।  

खानीको तल्लो भागमा पानीको सतह बढ्दै गएकाले जोखिम अरु बढ्ने अवस्था रहेको उद्वारकर्ताहरुको भनाई छ। खानीभित्र अलपत्र परेका नौ जनाको जीवन जोगाउन निकै मुश्किल देखिएको पनि उद्वारकर्ताहरुले बताएका छन्। चीनमा खानी दुर्घटनाका घटनाहरु नियमित झैं देखिएका छन्। खानीमा सुरक्षा व्यवस्था कमजोर भएको र नियामक निकायहरुले पनि बेवास्ता गरेको आरोप लाग्ने गरेको छ। गत डिसेम्बरमा पनि चोङकिङको खानीमा सुरुङभित्र चेपिएर २३ जना मजदूरको ज्यान गएको थियो।

प्रकाशित: ११ माघ २०७७ ०८:४४ आइतबार