अन्तर्राष्ट्रिय

अमेरिकी संसद भवन आक्रमणमा परि मृत्यु हुनेको संख्या चार पुग्यो

अमेरिकाको वासिङ्टन डिसीमा भएको हिंसामा परि चार जनाको मृत्यु भएको छ। भने ५२ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये ४७ जनाले कर्फ्यु उल्लंघन गरेका थिए। बिना इजाजतपत्र निषेधित हातहतियार बोकेका कारण उनीहरुलाई  पक्राउ गरिएको थियो।

मेट्रोपोलिटन पोलिस डिपार्टमेन्ट वासिङटन डिसीका प्रमुख रोबर्ट जे कोन्टीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका हुन्।

वासिङ्टनको क्यापिटल हिल (संसद भवन)मा अमेरिकी कंग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस गरिरहेका र बहसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेन बिजयी भएको औपचारिक पुष्टि हुन बाँकी रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू झ्याल र ढोका तोडफोड गर्दै हतियारसहित संसद भवनमा प्रवेश गरेका थिए।  

यसैक्रममा एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजनालाई समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटोमै मृत्यु भएको बताइएको छ।  

यसका साथै कोन्टीले भनेका छन्, रिपब्लिकन र डेमोक्र्याटिक राष्ट्रिय समितिको मुख्यालयबाट दुई पाइप बम बरामद गरिएको छ र संयुक्त राज्य अमेरिकाको संसद भवनमा गाडीबाट कूलर पनि पाइएको छ जसमा मोलोटोभ ककटेल थियो।

प्रकाशित: २३ पुस २०७७ ०५:५७ बिहीबार

अमेरिकी संसद भवन आक्रमण