अन्तर्राष्ट्रिय

भारतमा आन्दोलनरत किसानहरुद्वारा बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन्। आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन्।

किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिएका छन्। आफ्ना मागहरु पुरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरी बन्द गराइने उनले बताए।

कृषिसम्बन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन्।हाम्रोे बैठकले आफ्ना मागहरु पुरा गर्न सरकारलाई दवाव दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ, अर्का किसान नेता हर्भिन्डर सिंह लख्वाले भने।

हालै ल्याइएका कृषिसम्वन्धी कानुनहरु रद्ध नगरिएमा देशव्यापी बन्द अन्तर्गत सवै सडकहरुमा अवरोध गरिने उनले बताए। सरकारले ल्याएको कानुन लागु भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ।

केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै शुरु भएको हो। अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दवावमा परेको छ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरुसँग पटक पटक वार्ता पनि गरेको छ। तर वार्ता परिणममुखी हुन सकेको छैन।

प्रकाशित: २० मंसिर २०७७ ०७:१३ शनिबार

भारतमा आन्दोलनरत किसान बन्दको घोषणा