अन्तर्राष्ट्रिय

ट्रम्पले हार अस्वीकार गर्दै असहयोग गरिरहे कोरोनाले अझ धेरै मानिसको मृत्यु हुन सक्छ: बाइडेन

बाइडेन

अमेरिकाका नवनिर्वाचित जो बाइडेनले पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले हार अस्वीकार गरेर आफ्नो आगामी प्रशासनलाई अवरोध पुर्‍याइरहे कोरोना संक्रमणका कारण अझ धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।  

राष्ट्रपति निर्वाचन जित्नासाथ कोरोना नियन्त्रणका लागि टास्क फोर्स गठन गरेका बाइडेनले सोमबार डेलावेयरमा बोल्दै महामारी रोक्न आपसी समन्वयको खाँचो रहेको बताएका हुन्।  

नयाँ राष्ट्रपतिको संक्रमणकाल सुरु भएको र आफूले कोरोना महामारी नियन्त्रणका लागि योजना बनाइसक्दा पनि आफ्नो टोलीलाई ह्वाइट हाउसमा सम्पर्कै गर्न नदिएको भन्दै बाइडेन रुष्ट भएका हुन्। उनले मत परिणाम स्वीकार नगर्ने ट्रम्पको कदमलाई फेरि एकपटक लज्जाजनक कार्यको संज्ञा दिएका छन्।  

बाइडेनले भने, ‘यस विषय (सत्ता हस्तान्तरण) मा कसैले सोचेको छ? यो जीवन बचाउने कुरा हो, यथार्थता हो, कुनै अतियोक्ति होइन।’  

अमेरिकामा चुनाव जित्न २७० इलेक्टोरल मत आवश्यक पर्छ। तर बाइडेनले ३०६ मत प्राप्त गरिसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।  

तर पनि ट्रम्पले निर्वाचनमा अनियमितता भएको तथा दोहोर्‍याएर मत हालिएको भन्दै कतिपय राज्यका अदालतमा मुद्दासमेत हालिसकेका छन्।  

‘अवैध’ भोटका कारण मात्र बाइडेनले जितेको आरोप लगाउँदै उनले सजिलै सत्ता नछाडिने चेतावनी दिइरहेका छन्।  

बिबिसीका अनुसार सोमबार ट्रम्पले ट्विटरमा लेखेका छन्,  ‘निर्वाचन मैले जितें।’ 

यस विषयमा झुटो कुरा लेखेको भन्दै ट्विटरले समेत ट्रम्पलाई चेतावनी दिएको छ।

प्रकाशित: २ मंसिर २०७७ ०७:५७ मंगलबार

ट्रम्प बाइडेन