अन्तर्राष्ट्रिय

नागोर्नो-काराबाखको सुसा सहर हाम्राे कब्जामा : अजरबैजान

अर्मिनियासँग जारी युद्धका क्रममा आफूले नागोर्नो–काराबाखको एउटा महत्वपूर्ण सहर कब्जा गरेको अजरबैजानले दाबी गरेको छ। 

आइतबार टेलिभिजनमा सम्बोधन गर्दै अजरबैजानका राष्ट्रपति इलहाम अलियेबले सुसा नामको सहर आफ्ना सेनाले कब्जा गरेको दाबी गरेका हुन्।

बिबिसीका अनुसार अर्मिनियाले भने अजरबैजानको दाबी अस्वीकार गरेको छ।  

नागोर्नो–काराबाख १ हजार ७ सय वर्ग माइल क्षेत्रमा फैलिएको हिमाली क्षेत्र हो। जुन क्षेत्र सोभियत संघ विघटन हुनुअघि स्वायत्त थियो र अजरबैजानको एक हिस्सा थियो।

त्यस क्षेत्रमा इसाई अर्मिनियाली र टर्की मुसलमानको बसोबास छ।  

उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै अर्मिनिया र अजरबैजानबीच तीन दशकअघि नै युद्ध भएको थियो। बीचमा युद्धविराम त गरियो तर सेप्टेम्बरदेखि दुई देशबीच फेरि लडाइँ सुरु भएको हो। 

प्रकाशित: २४ कार्तिक २०७७ ०७:३३ सोमबार

अजरबैजान र अर्मिनिया