क्रिकेटको हिसाब नगर्ने हो भने तथ्यांकमा सदाबहार प्रतिद्वन्द्वी पाकिस्तानलाई भारतले उछिन्छ । क्षेत्रफलको हिसाबले भारत पाकिस्तानभन्दा चार गुणा ठूलो छ । त्यस्तै पाकिस्तानभन्दा भारत जनसंख्याका हिसाबले सात गुणा र कुल गार्हस्थ उत्पादन (जिडिपी) का हिसाबले १० गुणा माथि छ । त्यसो हुँदाहँुदै पनि कोभिड–१९ को सन्दर्भमा भारतमा ठूलो संख्या संक्रमित भएको छ, जुन तथ्यांक उसका लागि खुसीको विषय होइन । दुवै देशका सरकारी तथ्यांक हेर्ने हो भने गत महिनाका हरेक साता भारतमा जति मानिसको मृत्यु भएको छ, त्यो महामारी सुरु भएयता हालसम्म पाकिस्तानमा भएको कुल ६५ सय मृत्युको संख्याभन्दा बढी छ ।
भारतमा दिनहुँ ७० हजारको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् भने तीन महिनाअघि पाकिस्तान महामारीको हिसाबले सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो । अगस्ट सुरुदेखि पाकिस्तानमा दिनहुँ सयको हाराहारीमा मात्र संक्रमित देखिएका छन् । अर्थतन्त्रको हिसाबले पनि भारतले ठूलो मूल्य चुकाएको छ । एसियाली विकास बैकका अनुसार यो वर्ष भारतको जिडिपी ९ प्रतिशतले खुम्चनेछ भने पाकिस्तानको मात्र शून्य दशमलब ४ प्रतिशतले ।
‘हामी भाइरस नियन्त्रण तथा अर्थतन्त्रलाई स्थिर पार्न मात्रै होइन, लकडाउनले गरिब समुदायलाई पार्ने नकारात्मक प्रभाव रोक्नसमेत सफल भएका छौं,’ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा भिडियो सन्देशमा भनेका छन् ।
हिजोआज आमपाकिस्तानीले मास्क लगाउन छाडेका छन् भने सामाजिक दूरीको पनि खास परिपालना भएको छैन । ‘म बिरामी भइनँ, न मैले चिनेका कोही भए,’ इस्मामाबादको नजाम बजारका खुद्रा व्यापारी इरफानुल्लाह खान भन्छन्, ‘अब यो महामारीको अन्त्य भइसकेको छ ।’ तर विज्ञले यस्तो नतिजामा पुगिहाल्न हतार गर्न नहुने बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय विज्ञले संक्रमितको संख्यामा अस्वाभाविक कमीले परीक्षणका तथ्यांकको विश्वसनीयतामा आशंका गर्ने ठाउँ रहेको दाबी गरेका छन् । तर पाकिस्तानमा कोरोना पोजेटिभ घट्दो क्रममा छन्, मानिस कम बिरामी भएका छन् र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको संख्या पनि कम नै छ ।
भारत र पाकिस्तान दुवैले जनस्वास्थ्यमा अत्यन्त न्यून बजेट खर्चने गरेका छन् । पाकिस्तानको स्वास्थ्य संरचना भारतको तुलनामा धेरै कमजोर छ । अचम्मको विषय के पनि छ भने भारतको कोरोना नीति प्रष्ट र कडा छ तर पाकिस्तानको त्यति कडा छैन । महामारी नियन्त्रण गर्ने उद्देश्यले मार्चमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा बन्द गरे, रेल सेवा रोकेका थिए । भारतमा दुई महिना कडा लकडाउन भएको थियो । उता पाकिस्तानका प्रधानमन्त्री खानले गरिब जनताले लकडाउन थेग्न नसक्ने बताएका थिए । सम्पूर्ण देशमा लकडाउन गर्नुका साटो पाकिस्तानले संक्रमण धेरै भएका स्थानमा मात्र गरेको थियो । उसले गरिब जनतालाई नगद रकम बाँडेको थियो ।
पाकिस्तानमा लकडाउन खुकुलो भएकाले अधिकांश व्यवसाय बन्द भएनन् भने भारतमा कडा लकडाउन हुँदा सबै व्यवसाय ठप्प भए । तुलनात्मक रूपमा समृद्ध भारतले सामाजिक र आर्थिक रूपमा महामारीको चर्काे मूल्य चुकाउनुपरेको छ । पाकिस्तानको तुलनामा भारतमा संक्रमित संख्या निकै ठूलो छ ।
पाक प्रधानमन्त्री खानका समर्थक राष्ट्रिय कमान्ड सेन्टर स्थापना र क्षेत्रगत समन्वय, कन्ट्याक्ट ट्र्सिङमा सैनिकको प्रयोगले पाकिस्तानले महामारी नियन्त्रणमा सफलता हासिल गरेको दाबी गर्छन् । राष्ट्रिय पोलियो नियन्त्रण अभियानको अनुभवले पनि पाकिस्तानलाई कोभिड–१९ नियन्त्रणमा सहयोग पुगेको अन्यको तर्क छ ।
त्यसो त कोभिड–१९ नियन्त्रणमा पाकिस्तानको मजबुत निर्णय कारक ठान्ने पनि छन् । पाकिस्तानको पछौटेपनले पनि यसमा सहयोग पुगेको उनीहरूको धारणा छ । ‘मूलभूत रूपमा पाकिस्तानले अत्यन्त थोरै परीक्षण गरेको छ,’ प्रिन्सटन विश्वविद्यालयका रामानन लक्ष्मीनारायणको तर्क छ । भारतको प्रतिव्यक्ति परीक्षण दरभन्दा पाकिस्तानको एक चौथाइले कम रहेको उनी बताउँछन् । ‘परीक्षण नगर्नु भनेको नयाँ संक्रमित पत्ता नलगाउनु हो,’ उनले भने । विश्वका धेरै सर्वसत्तावादी शासकले यस्तै गर्ने तर्क उनको छ ।
अर्काे प्रमुख कारण जनसंख्या पनि हो । पाकिस्तान र भारत दुवै देशमा वृद्धवृद्धाको संख्या विकसित राष्ट्रको तुलना अत्यन्त कम छ । पाकिस्तानमा ६५ वर्ष उमेरभन्दा माथिको जनसंख्या मात्र ४ प्रतिशत छ, इटालीमा यो जनसंख्या २३ प्रतिशत छ । पाकिस्तानको मध्य आयु २३ वर्ष छ, जुन भारतको भन्दा ४ वर्षले कम हो । पाकिस्तानीको सरदर आयु ६७ वर्ष छ, यो पनि भारतको भन्दा २ वर्षले कम हो । यी सबै कारणले कोभिड–१९ को हिसाबले भारतभन्दा पाकिस्तानको जनसंख्या कम जोखिममा छ ।
दुवै देश अत्यधिक रूपमा ग्रामीण क्षेत्रमा आधारित रहे पनि स्वदेश तथा विदेशमा भारतीय धेरै यात्रा गर्छन् । वर्षमा १६ करोड भारतीय हवाई यातायात गर्छन् भने एक करोड पाकिस्तानीले मात्र यो सेवा लिन्छन् । यसैगरी भारतमा ट्रेनमा यात्रा गर्नेको संख्या पाकिस्तानको तुलनामा १३० गुणाले बढी छ । भारतले आप्रवासी कामदारलाई सुरुमा सहरमै राख्यो र पछि चाप थेप्न नसकेपछि ती कामदार गाउँगाउँमा पुग्दा महामारीको पनि विस्तार भयो । लकडाउनमा पाकिस्तानले आफ्ना नागरिकलाई घरमै बस्न भन्यो । पाकिस्तानमा लकडाउन खुकुलो भएकाले अधिकांश व्यवसाय बन्द भएनन् भने भारतमा कडा लकडाउन हुँदा सबै व्यवसाय ठप्प भए ।
अर्काे आश्चर्यको कुरा के छ भने तुलनात्मक रूपमा समृद्ध भारतले सामाजिक र आर्थिक रूपमा महामारीको चर्काे मूल्य चुकाउनु परेको छ । महामारीले अनौपचारिक क्षेत्र मात्र होइन, कार निर्माणा तथा हवाई क्षेत्रमा समेत नराम्ररी प्रभाव प¥यो । पाकिस्तानमा थोरै उद्योग बन्द रहे, आप्रवासी कामदार त्यति धेरै प्रभावित भएनन् र आपूर्ति शृंखला त्यति नराम्ररी तहसनहस भएन । एसियाली विकास बैंकले अर्काे वर्ष भारतले ८ प्रतिशत र पाकिस्तानले २ प्रतिशतले आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरेको छ ।
यसरी कोभिड–१९ ले भारत र पाकिस्तानलाई फरकफरक हिसाबले प्रभावित पारे पनि निष्कर्षमा पुगिहाल्न नहुने तर्क विज्ञको छ । ‘कोरोनाले भन्दा लकडाउनले बढी प्रभावित पारेको छ,
कतिपय हिसाबले हामी पाकिस्तान सरह छौं,’ भारतका नेसनल इन्स्टिच्युट अफ इपिडिमियोलोजीका सल्लाहकार जयप्रकाश मुलियिल भन्छन् । उनी दुवै देशको सरकारी तथ्यांक सही नहुन सक्ने तर्क गर्छन् । ‘ग्रामीण क्षेत्रमा स्थिति के छ, दुवै देशसँग सही तथ्यांक छैन,’ उनी भन्छन् ।
यसैगरी मानिसको शरीरमा कोभिड–१९ को एन्टिबडी बने/नबनेको हेर्ने सिरोलोजिकल अध्ययनले वास्तविक र घोषणा गरिएको केसलोडमा फरक देखिएको छ । जुनमा इस्लामाबादमा गरिएको एक अध्ययनले राजधानीको कुल २० लाख जनसंख्यामध्ये १४ दशमलब ५ प्रतिशतमा संक्रमण रहेको देखाएको थियो । यो संख्या पूरै पाकिस्तानमा त्यतिबेला रहेको संक्रमितको संख्याको औपचारिक तथ्यांकजत्ति नै थियो । यसैगरी भारतमा गरिएको समानखाले राष्ट्रव्यापी अध्ययनले मेको सुरुमै भारतमा ६० लाख संक्रमित पुगीसकेको देखाएको थियो । मेडिकल जर्नल ‘ल्यानसेट’ ले भारतले तथ्यांक सही नदेखाएको बताएको थियो । विज्ञले इरानमा जस्तै पाकिस्तानमा महामारीको दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । कराँचीस्थित अगाखान विश्वविद्यालयका प्राध्यापक जुल्फीकर भुट्टो भन्छन्, ‘अहिले नै खेल समाप्त भइसक्यो भन्ने सकिने अवस्था छैन ।’
(इकोनोमिस्ट, सेप्टेम्बर ३० को प्रिन्ट संस्करणबाट)
प्रकाशित: २३ आश्विन २०७७ ०१:१४ शुक्रबार