बाबरी मस्जिद भत्काइएको विषय अब अदालतबाट टुंगिएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दामा फैसला गर्दै वुधबार ३२ अभियुक्तलाई सफाई दिएको छ।
विशेष न्यायाधीश एसके यादवले फैसला सुनाउँदै घटनामा ठोष प्रमाण नभएको भन्दै सफाईको आदेश दिए। उनले बाबरी मस्जिद विध्वंस सुनियोजित नभएको समेत बताए।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायले २८ वर्षदेखि यो मुद्दा खेपिरहेका थिए। विशेष अदालतको फैसलासँगै उनीहरुले सफाई पाएका छन्।
सन् १९९२ डिसेम्बर ६ मा भाजपा निकटले राम जन्मभूमि भएको भन्दै बाबरी मस्जिदको बाहिरी संरचना भत्काएका थिए। त्यसपछि त्यहाँ भड्किएको साम्प्रदायिक दंगामा २ हजार भन्दा बढी मानिसको ज्यान भएको थियो।
अदालतको फैसला स्वागत गर्दै लालकृष्ण आडवाणीले ‘जय श्री राम’ भनेका छन्। यस्तै मार्क्सवादी कम्युनिस्ट पार्टीका महासचिव सिताराम एचुरीले उक्त फैसलालाई मजाक भनेका छन्।
प्रकाशित: १४ आश्विन २०७७ ०९:१८ बुधबार