अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकलाई विश्वास गर्ने तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको उनको आरोप छ।
ट्रम्पका गतल कदमले अमेरिका र अमेरिकी नागरिकलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बाइडेनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयमा मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्।
बाइडेनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुन सक्ने आशंका पनि गरेका छन्। सार्वजनिक स्वास्थ्य विज्ञसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामबारे परामर्श गरेपछि उनले यस्तो बताएका हुन्।
उनले भने, ‘म वैज्ञानिकलाई विश्वास गर्छु, खोपमा विश्वास गर्छु, तर डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिनँ।’ उनले अमेरिकी नागरिकले पनि आफूले जस्तै वैज्ञानिक र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी पनि गरे।
प्रकाशित: २ आश्विन २०७७ १०:४७ शुक्रबार