अन्तर्राष्ट्रिय

कोरोना संक्रमणका कारण भारतमा फेरि अर्का सांसदको मृत्यु

कोरोना संक्रमणका कारण भारतमा फेरि अर्का सांसदको मृत्यु भएको छ।  

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यसभा सदस्यमा भर्खरै निर्वाचित अशोक गस्तीको निधन भएको हो।  

बेंगलरुमा उपचारका क्रममा बिहीबार उनको निधन भएको बीबीसी हिन्दीले जनाएको छ।  

५५ वर्षीय अशोक गस्ती गत जुलाई २२ तारिख मात्र भारतको राज्यसभा सांसदका रूपमा शपथ ग्रहण गरेका थिए।

यसअघि उनी कर्नाटक पिछडा वर्ग आयोगका अध्यक्ष थिए।  

पेसाले वकिल उनलाई कर्नाटक राज्यको रायचुर जिल्लामा भारतीय जनता पार्टीलाई बलियो बनाउने हस्तीका रूपमा चिनिन्छ।

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सदस्य रहेका अशोक गस्ती कर्नाटकमा भारतीय जनता पार्टीको युवा मोर्चाका अध्यक्ष पनि बनेका थिए।

भारतीय जनता पार्टीका नेता एवं गृहमन्त्री अमित शाहले सांसद गस्तीको निधनप्रति शोक व्यक्त गरेका छन्।

यसको एक दिनअघि मात्र तिरुपतिबाट लोकसभा सासंद बाली दुर्गा प्रसादको पनि कोरोना संक्रमणकै कारण निधन भएको थियो। 

वायएसआर कांग्रेस पार्टीका नेता ६५ वर्षीय उनको उपचारका क्रममा चेन्नईस्थित अस्पतालमा निधन हो।

प्रकाशित: १ आश्विन २०७७ १३:३९ बिहीबार

भारत सांसद