अन्तर्राष्ट्रिय

यूएईद्वारा अरबकै पहिलो मंगल मिशन प्रक्षेपण

संयुक्त अरब ईमिरेट्स (यूएई) ले पहिलो मंगल ग्रह मिशन अन्तर्गत जापानको तानेगाशिमा अन्तरीक्ष केन्द्रबाट पहिलो मानवरहित अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। यो मिशनको तयारी संयुक्त अरब ईमिरेट्सले सन् २०१४ बाट थालेको थियो।

यसअघि जुलाई १५ मा प्रक्षेपण गर्ने भनिए पनि मौसमको खराबीका कारण ५ दिन पर सारेर युएईको समय अनुसार आज बिहान १: ५८ बजे “ईमिरेट्स होप अर्बिटर” नामको अन्तरीक्ष यान लन्च गरिएको हो। यो अरब मुलुकहरूको पहिलो मंगल मिशन हो।  यसले रातो ग्रहको रुपमा चिनिने मंगल ग्रहको वातावरण तथा मौसमको रहस्य र विभिन्न तहहरुको अध्यन गर्ने बताईएको छ।  

मोहम्मद बिन रसिद अन्तरीक्ष केन्द्रले निर्माण गरेको यो अन्तरीक्ष यानको सुपरिवेक्षण तथा नियन्त्रण दुबईको अल खवानिजमा रहेको नियन्त्रण केन्द्रबाट गरिनेछ। १३ सय ५० किलोग्रामको उक्त यानको अरबिक नाम “अल अमल” राखिएको छ।  यसले पृथ्वीबाट मंगल ग्रह सम्मको दुरि ४९.३ करोड किलोमीटर पार गर्न ७ महिना लगाउने बताईएको छ।  

समयमै गन्तव्यमा पुगे यसले १,२१,००० किलोमीटर प्रती घण्टाको औषत गतिमा मंगलग्रहको परिक्रमा गर्नेछ।  यसमा जडान गरिएका मुख्य ३ यन्त्रले ग्रहको वातावरणको पूरा तस्बीर खिच्नुका साथै तापमान परिवर्तन एवं ओजन तहको गहिरो अध्यन तथा विश्लेषण गर्नेछ।  साथै त्यहाँ रहेको हाईड्रोजन तथा अक्सिजन ग्याँसको स्तर मापन गर्नेछ।  दोस्रो ग्रहहरुको वातावरणको अध्यनले पृथ्वीको वातावरण एवं जलवायु परिवर्तनको अध्यन र विश्लेषण गर्न सहयोग पुग्ने विज्ञहरुको भनाई छ।  

यसअघि गएको सेप्टेम्बरमा युएईले पहिलो ईमिराती अन्तरिक्ष यात्री हज्जा अल मंसुरीलाई अन्तरिक्षमा पठाएको थियो।  उनले ८ दिन अन्तरीक्षमा बिताएका थिए।  संयोग त के मान्नुपर्छ भने यहि महिना अमेरिका र चीनले समेत मंगल मिसन लन्च गर्दैछन्।  चीनले आगामी जुलाई २३ मा ताईन्वेन १ मंगल मिसन लन्च गर्दैछ भने अमेरिकाले जुलाई ३० मा एट्लस भि ५४१ लन्च गर्दैछ।  

 

प्रकाशित: ५ श्रावण २०७७ १३:०८ सोमबार

मंगल मिशन