अन्तर्राष्ट्रिय

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो।  

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ। त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४९७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरुले जनाएका छन्।  

भारतमा अहिले पनि ३ लाख ९० हजार ४५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १० हजार ४५५ जना संक्रमित भएका छन्।  त्यसपछि तमिलनाडु र दिल्ली प्रदेशमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: ५ श्रावण २०७७ ०७:३७ सोमबार

भारत कोरोना भाइरस संक्रमित