अन्तर्राष्ट्रिय

चीनसँग टक्कर परिरहेका बेला भारतीय रक्षामन्त्री सिंह किन गए रुस ?

भारतका रक्षामन्त्री राजनाथ सिंह

भारतका रक्षामन्त्री राजनाथ सिंह अहिले रुस भ्रमणमा छन्। तीन दिने भ्रमणका क्रममा उनले रुसका उच्च सैन्य अधिकारीसँग वार्ता गर्नेछन् भने दोस्रो विश्वयुद्धमा नाजी जर्मनीविरुद्ध रुसले विजय हासिल गरेको ७५औं वार्षिकोत्सवका अवसमार हुने विशाल सैन्य परेडमा समेत भाग लिनेछन्।

भारतीय रक्षामन्त्री सिंहको रुस भ्रमण त्यस्तो बेला भइरहेको छ, जतिबेला सीमा क्षेत्र लद्दाखमा चीनसँझ झगडा भइरहेको छ। गत हप्ता लद्दाखको गलवान उपत्यकामा चीन र भारतका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता यी दुई देशबीच दुश्मनी बढेको छ।  

सोमबार रुसको मस्को प्रस्थान गर्नुअघि भारतीय रक्षामन्त्री सिंहले ट्विट गर्दै भनेका छन्, ‘म तीन दिनका लागि मस्को भ्रमण निस्किएको छु। यो भ्रमणले भारत र रुसबीच रक्षा र सामरिक साझेदारीलाई मजबुत बनाउन वार्तालापको मौका प्रदान गर्नेछ।’

यो पनि पढ्नुहोस्

भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान

भारतीय रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले के भनेका छन् भने चीनसँग सीमामा तनाव भइरहेका बेला पनि रक्षामन्त्री सिंहले यसकारण रुस भ्रमण स्थगन गरेनन् कि रुससँग भारतको दशकौं पुरानो सैन्य सम्बन्ध छ र रक्षामन्त्री सिंहले दुई देशबीच सैन्य सहयोग बढाउने विषयमा रुसका उच्च अधिकारीहरूसँग छलफल गर्नेछन्।

यस्तै कतिपय भारतीय सञ्चारमाध्यमले रक्षामन्त्री सिंहको यो भ्रमणलाई भारतको सैन्य क्षमता बढाउने प्रयासका रूपमा हेरेका छन्। धेरै अखबारले लेखेका छन्– आफ्ना हातहतियार तथा सैन्य क्षमता सशक्त पार्ने उद्देश्यले उनी रुस गएका हुन्, चीनसँग लड्न सकियोस् भनेर।  

अझ यस विषयमा भारत सरकार निकै ढिला भएको कतिपय विश्लेषकको भनाइ छ। कारण कोरोना महामारीले गर्दा रुसबाट हातहतियार ल्याउन बढी समय लाग्नेछ। तर पनि रक्षमन्त्री सिंहले यो काम जतिसक्दो चाँडो गराउन रुससँग आग्रह गर्नेछन्। बिबिसी

प्रकाशित: ९ असार २०७७ ०६:२९ मंगलबार

भारत_चीन विवाद