अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिवानहरूले आफ्नो गतिविधि यूरोप तथा अमेरिकी मुलुकहरूविरूद्ध सञ्चालन त गर्ने होइनन् भन्दै व्यक्त गरिएका आशंकाको शुक्रबार तालिवान समूहले खण्डन गरेको छ ।
तालिवानसँग अमेरिकी प्रतिनिधिले गरेको सम्झौता कार्यान्वयनमा आशंका नगर्न तालिवानी नेताहरूले आग्रह गरेका हुन् । अमेरिकी सेनाको उच्च अधिकारी जनरल केनिथ म्याककेन्जीले सम्झौतामा गरिएका शर्तलाई पूर्णरूपमा पालना भए नभएको हेरेर यस वर्ष करिब आठ हजार ६०० नेटो सैनिक फिर्ता गरिने र सबै शर्त पालना भएको पाइएमा बाँकी सबै सैनिकलाई अर्को वर्षसम्ममा फिर्ता लग्ने बताए ।
यसैबीच तालिवान समूहले फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौतालाई पालना गर्ने बिषयमा आफू कटिवद्ध रहेको बताउँदै यसमा खासगरी अमेरिका तथा अन्य पश्चिमी मुलुकहरूले शंका नगर्न भनेको छ ।
‘हाम्रो मुलुक कसैको विरूद्धमा प्रयोग हुने छैन । यसमा उनीहरूले आशंका गर्नुपर्दैन,’ तालिवान प्रवक्ता जिविहुला मुजाहिदले एएफपीसँग बताए ।
फेब्रुअरीमा भएको सम्झौतामा करिब २० वर्ष पहिले अमेरिकामा भएको अल–कायदा आक्रमणपछि अफगानिस्तान पसेका अमेरिकी र अन्य विदेशी सैनिकलाई अफगानिस्तानबाट फकाउनुपर्ने र तालिवान समूहले शान्तिपूर्ण राजनीतिमा आउन अफगान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा समाहित हुने प्रमुख शर्त रहेका छन् ।
तर पश्चिमी मुलुकहरूको पछिल्लो अध्ययन रिपोर्टमा तालिवान र स्लामिक समूहबीच खासै निकटता नरहेपनि अलकायदासँग ‘निकट रहेको’ र अमेरिकासँगको सम्झौतामा पनि नियमित परामर्श गरेको भन्ने उल्लेख गरिएको छ ।
यही वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अर्को कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका डोनाल्ड ट्रम्पले पटक पटक अमेरिकी सैनिकलाई अफगानिस्तानबाट फिर्ता गर्ने बिषयलाई दोहोराउँदै र्आका छन् ।
प्रकाशित: ५ असार २०७७ १३:१४ शुक्रबार