अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट एकदिनमै दुई हजार जनाको मृत्यु

भारतमा कोरोना संक्रमणका कारण एकदिनमै दुई हजार जनाभन्दा बढीको मृत्यु भएको छ। भारतका स्वास्थ्य अधिकारीले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २ हजार ३ जनाको मृत्यु भएको हो।  

योसँगै भारतमा यसबाट मृत्यु भएकाको कूल संख्या ११ हजार ९ सय ३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १० हजार ९ सय ७४ जना संक्रमित भएका छन् ।  

योसमेत गरेर भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको भारतीय  अधिकारीले जनाएका छन् । तीमध्ये १ लाख ८६ हजार ३ सय ९५ जना भने  संक्रमणमुक्त भइसकेका छन्।  

कोरोना भाइरसका कारण मृतकको संख्या एक्कासि बढेपछि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले चिन्ता प्रकट गरेको छ।  

भारतमा प्रदेशअनुसार सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ४५ पुगेको छ । त्यसैगरी दोस्रो धेरै संक्रमित तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना छन् । यस्तै राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना संक्रमित ४४ हजार ६ सय ८८ जना छन् । 

प्रकाशित: ३ असार २०७७ ०९:५७ बुधबार

कोरोना सङ्क्रमण