अन्तर्राष्ट्रिय

बेइजिङमा पुनः कोरोना संक्रमण

 कोरोना भाइरस संक्रमण पुनः देखिएपछि चीनको राजधानी बेइजिङको एक भागमा कडा लकडाउन लागू गरिएको छ । सहरको एक थोक बजारमा संक्रमण देखिएको छ । झिनफादी नामक बजारमा पाँच सय १७ जनाको नमुना परीक्षण भएकोमा ४५ जनालाई कोरोना संक्रमण देखिएको छ ।  

संक्रमित सबैमा कुनै लक्षण देखिएको छैन । भाइरस पुनः सक्रिय देखिएपछि सो बजार आसपासका ११ क्षेत्रमा लकडाउन गरिएको हो । त्यहाँका १० हजार कर्मचारीको नमुना परीक्षण गरिने बताइएको छ । सरकारी अधिकारीले सो बजार क्षेत्रमा गएका र वरपर बस्ने सबैको नमुना परीक्षण गरिने बताएका छन् ।  

बेइजिङमा ५० दिनपछि नयाँ संक्रमित देखिएका हुन् । राजधानी बेइजिङ दक्षिण पश्चिममा पर्ने फेङटाइ जिल्लामा रहेको सो झिनफादी बजार संक्रमण देखिएपछि शनिबार सबेरै बन्द गरिएको थियो। सुरुमा सो बजारमा गएका दुई जनामा संक्रमण देखिएको थियो । त्यसपछि गरिएका परीक्षणमा ४५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

‘जनताको सुरक्षा र स्वास्थ पहिलो प्राथमिकतामा राख्ने नीतिअनुसार यो बजार र वरपरका क्षेत्रमा हामीले लकडाउन गरेका हौं,’ फेङटाइ जिल्लाका एक अधिकारी झु जुनवाईले भने । उनले सो जिल्लामा लकडाउनका बेला अवलम्बन गरिने आपतकालीन अवस्था लागू गरिएको र लकडाउन कार्यान्वयनका लागि सयांै सैनिक परिचालन गरिएको पनि बताए । बजारनजिक रहेका सबै यातायात सम्पर्क र विद्यालय बन्द गरिएको छ । यसबाट राजधानी बेइजिङमा भाइरस संक्रमणको दोस्रो लहर आउने आशंका गरिएको छ ।  

पहिलोपटक चीनको बुहानमा गत पुसमा कोरोना भाइरस संक्रमण देखिएको थियो । त्यसपछि संक्रमण फैलावट बढेपछि चीनले लकडाउन गरेको थियो । लकडाउनबाटै चीनले पहिलो चरणको संक्रमण नियन्त्रणमा लिएको थियो । चीनमा कोरोना भाइरस संक्रमणबाट चार हजार ६ सय जनाको मृत्यु भएको छ ।  

झिनफादीको होलसेल बजारमा कसरी भाइरस पुनः देखियो भन्नेमा चिनियाँ अधिकारी प्रष्ट हुन सकेका छैनन् । यो बजारले राजधानी बेइजिङमा तरकारी र मासुको ८० प्रतिशत माग पूरा गर्छ । चीन सरकारले भाइरस संक्रमण देखिएका सहरलाई पूर्ण रूपमा एक्ल्याउने नीति अख्तियार गरेको थियो, जुन प्रभावकारी साबित पनि भएको थियो । तर अहिले चीनले पूरै बेइजिङमा लकडाउन गर्न त्यति इच्छा देखाएको छैन ।  

...

 

 

प्रकाशित: ३२ जेष्ठ २०७७ ०१:५२ आइतबार

कोभिड १९