अन्तर्राष्ट्रिय

कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक (अपडेट)

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन्। विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ।  

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ।  

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ।  

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ। योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ।

प्रकाशित: १२ जेष्ठ २०७७ १०:२९ सोमबार

कोरोना अपडेट विश्व