अन्तर्राष्ट्रिय

पेरुमा कोरोना संक्रमित एक लाख, तीन हजारको मृत्यु

दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको त्याहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन्। गत अप्रिल ३० यता संक्रमित र मृत्यु हुनेको दर तीन गुणाले बढेको छ।  

भाइरस फैलिन नदिन पेरुमा नौ हप्तादेखि लकडाउन जारी छ, र यसबाट मुलुकको अर्थतन्त्र अत्यन्त नाजूक अवस्थामा पुगेको छ।  

पेरुको करिब ३ करोड २० लाख जनसंख्यामध्ये एक तिहाई बसोबास गर्ने लिमा र तटीय शहर कालाओमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्।  

पेरुका अस्पतालमा बिरामीको संख्या व्यापक रुपमा बढ्नुका साथै अस्पतालहरुमा स्वास्थ्य सामग्रीको चरम अभाव हुन थालेको छ। राजधानी लिमको उनानु अस्पतालमा कार्यरत नर्स मिगेल अर्मासले यहाँका अवस्था अहिले “हरर फिल्म” (तर्साउने फिल्म) हेरेजस्तो देखिएको बताइन्।  

स्वास्थ्य मन्त्रालयले कोविड–१९ का बिरामी उपचारका लागि हाल ७ हजार ५०० व्यक्ति अस्पताल भर्ना भएको जनाएको छ।
स्थानीयबासीले चिकित्सा सेवाको पर्याप्त व्यवस्था नहुँदा संक्रमितहरुको घरघरमै ज्यान गइरहेको गुनासो गरेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७७ ०९:१३ बिहीबार

काेराेना भाइरस