अन्तर्राष्ट्रिय

महामारीमाथिको राजनीतिले मानिसको जीवनमाथि खेलवाड: जेयर बोल्सोनारो

कोरोनालाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक मतान्तर

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको त्रासलाई अतिरन्जित गरिएको निरन्तर दाबी गरेका छन् । संघीय, राज्य र स्थानीय तहका अरु अधिकारीहरुले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै आएका छन् ।  

कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक तहबीच गहिरो मतान्तर छ । यस राजनीतिक तिक्तताले आम मानिसको जीवन जोखिममा पारेको छ ।  

शनिबार मात्र ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ, तर राष्ट्रपति बोल्सोनारोले मुलुकलाई लकडाउनमुक्त गराउने विषयलाई निरन्तर अघि सारेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, “बेरोजगारीको संख्या निरन्तर बृद्धि हुँदैछ ।”

अति दक्षिणपन्थी नेताको छवी बनाएका राष्ट्रपति बोल्सोनारोले “के अराजकता सामुन्ने आइसकेको छ ” भन्ने प्रश्न गर्दै कोरोनाभाइरसलाई “सामान्य किसिमको फ्लु”सँग तुलना गरेका छन् । कतिपयको तर्क छ, कोरोनाभाइरसले “अराजकता” सिर्जना गरिसकेको छ ।  

 कोरोनाभाइरसँग जुध्न घरभित्रै बस्ने विषयमा जारी गरिएको आदेशप्रति पनि राष्ट्रपति बोल्सोनारोले आलोचना गरेका छन् । राष्ट्रपतिको सार्वजनिक रुपमै खुलेर आलोचना गरेको भन्दै स्वास्थ्य मन्त्री लुईज हेनरिक म्याडेटालाई पदबाट बर्खास्त गरेका छन् ।

यहीबीच, दक्षिण अमेरिकामै ब्राजिल कोरोनाभाइरसको इपिसेन्टरका रुपमा प्रकट भएको छ । यहाँ ११ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने डेढ लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् ।  

विज्ञहरुको भनाईमा न्यून परीक्षणको अर्थ संक्रमितको संख्या अरु बढी हुनु हो । हार्वर्ड विश्वविद्यालयका प्रोफेसर सिड्ने चालहोबले युरोपमा १९औं शताब्दीमा जर्मनीको ह्यामबर्गमा फैलिएको हैजाका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको प्रसँग उल्लेख गर्दै भने, “ब्राजिलमा झैं स्थानीय राजनीतिक नेता र प्रभूत्वशाली आर्थिक सरोकारवालाबीचको विभाजनकै कारण ठूलो संख्यामा मानिसको ज्यान गएको थियो । यस द्वन्द्वले जर्मनीले अन्ततः झन् ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो ।”

बोल्सोनारोका समर्थकहरुले हालैका साताहरुमा लकडाउनको विरोधमा शृंखलाबद्ध प्रदर्शन गरिसकेका छन् । कुनै भेलामा त स्वयं राष्ट्रपति उपस्थित भएका छन्, सडकमा उत्रेका छन्, मानिसहरुसँग हात मिलाउने र कडा भाषणहरु गरेका छन् । यी सभामा सबै व्यक्तिले मास्क समेत लगाउन अस्वीकार गरेका छन् ।  

यी प्रदर्शनहरुमा कङ्ग्रेस (संसद) र सर्वोच्च अदालतप्रति तिखा टिप्पणीहरु गरिएका छन् । कतिपय अवस्थामा प्रदर्शनहरु हिंसात्मक हुने गरेका छन् । कतिपय प्रदर्शनकारीले पत्रकार र नर्सहरुमाथि समेत आक्रमण गर्ने गरेका छन् ।  

हालै मात्र डाटाफोल्हा इस्न्टिच्यूटले गरेको जनमत सर्वेक्षणमा ६७ प्रतिशत ब्राजिलीहरुले भाइरसलाई नियन्त्रणमा ल्याउन घरभित्रै बस्न दिइएको आदेश उपयुक्त रहेको बताएका छन् । मुलुकको अर्थतन्त्रलाई चोट पुगे पनि लकडाउन अनिवार्य रहेको उनीहरुको भनाई छ ।  

बोल्सोनारोका कतिपय समर्थक पनि यही विश्वासमा छन् ।  

अर्को जनमत सर्वेक्षणमा बोल्सोनारोका दक्षिणपन्थी समर्थक हौं भन्ने ५६ प्रतिशतले राष्ट्रपतिको कदमप्रति समर्थन जनाएका छन् भने ४० प्रतिशतले राष्ट्रपतिको विरोध गरेका छन् ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिले झैं कोरोनाभाइरसको उपचारका लागि क्लोरोक्वीनको प्रयोगलाई बढावा दिएका छन् । तर ब्राजिली बैज्ञानिकहरुले उक्त औषधि कोरोना रोकथाम र उपचारमा खासै उपयोगी नरहेको बताएका छन् ।

प्रकाशित: ३० वैशाख २०७७ ०८:१८ मंगलबार

काेराेना सङ्कट