अन्तर्राष्ट्रिय

चीनका विद्यालय र कार्यालयहरुको बाहिर कोरोना परीक्षण

बेइजिङ - चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ। हरेक दिन विद्यालय जाने विद्यार्थीहरु देखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको  कोरोना भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ। हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरु यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ। कक्षा कोठाभित्र छिर्नु अघि उनीहरुको स्वाब परीक्षण गरिन्छ। त्यसपछि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षा कोठाभित्र छिर्न दिने गरिएको बताइएको छ। 

त्यसैगरी यहाँका नागरिकहरु एक प्रान्तबाट अर्कोमा जाने काम पर्‍यो र जान लाग्यो भने पनि जानुअघि यो परीक्षण गरेर यसको रिपोर्ट नेगेटिभ आएपछि मात्र यात्रामा निस्किने गरेको छ। एक प्रान्तबाट अर्कोमा प्रवेशका लागि पनि कोरोना भाइरस नेगेटिभ आएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र भएपछि मात्र छिर्न पाइने नियम बनाएको बताइएको छ। यहाँका बायोटेक कम्पनीहरुले पनि कोरोना भाइरसको परीक्षणसम्बन्धी किटहरु निकै ठूलो मात्रामा उत्पादन गर्ने गरेका पनि बताइएको छ।यसैबीच सांघाई र बेइजिङका विद्यालयहरू गत हप्तादेखि नै खुलेका हुन्। गतहप्ता देखि यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय जान थालेका हुन्।

महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरू खुलेर हाल नियमित रुपमा पठन पाठन सुरु भएको समाचारमा जनाइएको छ। कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरू पनि बन्द गरिएको थियो। बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरू बन्द गरिएको थियो। अहिले भने चीनमा सरकारी तथा निजी कार्यालयका साथै विद्यालय, विश्वविद्यालयहरु सुचारु भएका छन्। चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो। यही लकडाउनका कारण यहाँका अरु कार्यालहरूका साथै विद्यालय तथा विश्वविद्यालयहरू पनि बन्द गरिएको थियो।

चीनमा अहिले संक्रमणको उच्च सतर्कता अपनाइएको छ। यही उच्च सतर्कताका साथ व्यावसाय तथा कार्यालयहरू विस्तारै खुला गर्न थालिएको छ। चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखा परेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई नै प्रभावित पारेको थियो। यस संक्रमणबाट चीनमा ४ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ। चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किने प्रयासमा रहेको यहाँका सञ्चारमाध्यमले जनाएका छन एएफपी

प्रकाशित: १९ वैशाख २०७७ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App