अन्तर्राष्ट्रिय

श्रीलंकामा संसदीय निर्वाचन स्थगित

कोलम्बो – कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रूप लिएपछि श्रीलंकाले आगामी महिना गर्ने भनिएको संसदीय निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन्।

‘विश्व स्वास्थ्य संगठनले श्रीलंकालाई भोलि कोरोना भाइरसको संक्रमणको खतरा नरहेको बताए पनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५)मा सम्पन्न गर्न सक्दैनौँ,’ निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाले भने, ‘निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्नेबारे कोरोना भाइरस संक्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने विषयमा निर्भर रहन्छ।’

श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमतका साथ संसदमा आउने विश्वाससहित यसबाट आफूलाई थप शक्तिशाली बनाउन सविधान संशोधनको अपेक्षा गरिरहेका अनुमानहरू स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन्।

श्रीलंकामा ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीमध्ये ३ बिरामी उपचारपछि सन्चो भएर घर फर्किएका छन्। सरकारले अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द (लकडाउन) गरेको छ भने संवेदनशील मानिएका करिब आठ लाख ५० हजार नागरिकलाई अतिआवश्यक काममा बाहेक आफ्नो घरबाट बाहिर नजान निर्देशन गरेको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०१:२५ शुक्रबार

कोरोना_भाइरस संसदीय_निर्वाचन श्रीलंका