अन्तर्राष्ट्रिय

कोरोना महामारीपछि कलकारखाना खोल्न चीनको तयारी, अमेरिकी चेतावनीले आपूर्तिमा बाधा पुग्ने

बेइजिङ – कोरोना भाइरस संक्रमण फैलिएपछि एक महिनाभन्दा बढी समय बन्द कलकारखानाहरू सञ्चालन गर्न चीनले तयारी गरे पनि संयुक्त राज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरूको चेतावनीले आपूर्तिमा बाधा पुग्ने देखिएको छ।

अमेरिकी चेतावनीले खासगरी माइक्रोचिप्स र त्यसका लागि आवश्यक अरु सामानको आपूर्तिमा बाधा पुग्न सक्नेछ। यसले विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने प्रयासमा अझै केही दिन ढिलाई हुने खतरा देखिएको छ।

पश्चिमा देशहरूले उद्योगहरू बन्द गर्ने, मानिसको यात्रा सीमित गर्ने तथा मानिसलाई घरमै बस्न अनुरोध गरेकाले विश्वव्यापी व्यापार गतिविधिमा दबाबको स्थिति छ। चिनियाँ उत्पादकहरूले एप्पल, सामसुङ र अन्य ब्रान्डका मोबाइल फोनको ८० प्रतिशतभन्दा बढी स्वदेशमै उत्पादन गर्छन्। चीनमा विश्वमै आधाभन्दा बढी पर्सनल कम्प्युटर, ठूलो संख्यामा घरयासी विद्युतीय र अरु सामान उत्पादन हुने गर्छ। तर, तिनीहरूलाई अमेरिकामा निर्मित प्रोसेसर चिप्स र अन्य उच्च कोटिका सामानहरू आवश्यक पर्छ।

अमेरिकी कारखानाहरू सीमित भए पनि सञ्चालनमा छन्। तर, नेसनल फेडरेसन अफ इण्डिपेन्डेन्ट बिजनेसका अनुसार सर्भे गरिएका तीन सय कम्पनीमध्ये करिब ३९ प्रतिशतले आपूर्ति अवरोध सामना गरिरहेका छन्। ‘अमेरिकाको दैनिक जीवनमा आउने अवरोधले निश्चय पनि चीनको उत्पादन गतिविधिमा अवरोध आउन सक्नेछ,’ फिच सोल्युसनका जोखिम विश्लेषक ड्यारेन टेले भने।

बेइजिङले मानिसको आवतजावतमा लगाएका नियन्त्रणहरू खुकुलो बनाएको छ। सहरका सडकहरूमा मानिसको चहलपहल बढेको छ। उद्योगहरूले आपूर्ति सञ्जाल पुनर्निर्माण गर्दैछन्। चिनियाँ उद्योगले विश्वभर अटो पार्ट्स, माइक्रोचिप्स र अन्य सामान आपूर्ति गर्ने ठूलो सञ्जाल बनाएका छन्।

अधिकारीहरूका अनुसार फलाम निर्माता र राज्यको स्वामित्वमा रहेका अन्य उद्योगहरू सामान्य अवस्थामा नै फर्किसकेका छन्। तर, साना, निजी कम्पनीहरूको अवस्था निकै नाजुक छ। यी कम्पनीहरुलाई चीनको आर्थिक इञ्जिनका रूपमा लिइन्छ। यी कम्पनीहरुले कपडा, खेलौना र अन्य उपभोक्ता वस्तुहरू बनाउँछन्। अधिकांश यी कम्पनीहरू सामग्री वा कर्मचारीहरूको अभावका कारण बन्द गरिएका थिए।

प्रकाशित: ७ चैत्र २०७६ ०१:२१ शुक्रबार

कोरोना_महामारी चीन कलकारखाना