अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

सिड्नी – अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्द गर्ने घोषणा गरेका छन्। उनले बिहीबार आयोजित प्रेस सम्मेलनमा अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिएको बताए।

गैर अस्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो। अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अस्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ।

प्रधानमन्त्री मोरिसनले अस्ट्रेलियामा देखिएको संक्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिएका छन्। अस्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार बिहीबार बिहानसम्म पाँच सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०१:०९ शुक्रबार

काेराेना_भाइरस यात्रा_प्रतिबन्ध अस्ट्रेलिया