अन्तर्राष्ट्रिय

स्पेनका राजाद्वारा पिताको सम्पत्ति नलिने घोषणा

म्याड्रिड – स्पेनका राजा फेलिपे षष्टमले विवादमा परेका आफ्ना पिता ख्वान कार्लोसबाट प्राप्त हुने पैतृक सम्पत्ति नलिने घोषणा गरेका छन्। भड्किलो जीवनशैलीले पूर्वराजा आलोचित भएपछि स्पेनका राजा षष्टमले यस्तो घोषणा गरेका हुन्।

स्पेनका शाही मामिलाबारे जानकारहरू बुबासँग सम्बन्धित मुद्दाबाट टाढिने प्रयासस्वरूप राजाले यस्तो निर्णय गरेको बताउँछन्। यसअघि पूर्वराजाले सन् २००८ मा विदेशी खातामार्फत् साउदी अरबबाट १० करोड डलर पाएको समाचार सार्वजनिक भएको थियो। तर, यसबारे पूर्वराजाले प्रतिक्रिया दिएका छैनन्।

झन्डै चार दशक शासन गरेका ख्वान कार्लोसको गतिविधिबारे आर्थिक निकायका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

प्रकाशित: ५ चैत्र २०७६ ०२:१३ बुधबार

स्पेन घोषणा