अन्तर्राष्ट्रिय

१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

काबुल – अफगान राष्ट्रपति असरफ घानीले बुधबार तत्काल एक हजार पाँच सय तालिबान लडाकुलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उनले उक्त कदम चालेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।

हालै संयुक्त राज्य अमेरिका र तालिबान विद्रोही समूहबीच सम्पन्न शान्ति सम्झौतामा अन्तर–अफगान शान्ति वार्ता हुनुअघि अफगानिस्तानका जेलमा बन्दी जीवन बिताइरहेका पाँच हजार लडाकुलाई विनाशर्त छाड्ने सहमति भएको थियो। राष्ट्रपति घानीको उक्त घोषणाप्रति तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन। तर, तालिबानका जेल आयोगका प्रमुख मुल्लाह नुरुद्दीन तुराबीको पत्रमा सबै बन्दीलाई नछाड्दासम्म शान्ति वार्ता हुन नसक्ने बताइएको छ।

पस्तो भाषामा लेखिएको उक्त पत्र गत साता बन्दीहरू, उनीहरुका परिवार र तालिबान नेताहरूलाई पठाइएको थियो। तालिबान समूहले आफूहरूले अमेरिकी प्रतिनिधिमण्डललाई बुझाएको सूचीमा समावेश भएका पाँच हजार व्यक्तिलाई छाड्नु पर्ने बताएको छ र त्यसका लागि आफूहरूले हरेक व्यक्तिको जाँच गर्ने बताइएको छ।

तर, राष्ट्रपतिको आदेशमा पहिलो चरणमा मुक्त गर्न लागिएका एक हजार पाँच सय बन्दीहरूलाई उमेर, स्वास्थ्य र उनीहरुले जेलमा बिताएको समयावधिका आधार लिइने उल्लेख छ। मुक्त गरिने हरेक बन्दीको बायोमेट्रिक पहिचान लिइने र आउँदा दिनहरुमा कुनै पनि युद्धमा भाग नलिने प्रत्याभूति सहितको लिखित प्रतिबद्धता जनाउनु पर्नेछ।

बाँकी तीन हजार पाँच सय बन्दीलाई अन्तर–अफगान वार्ता सुरु भएपछि मुक्त गरिने छ। घानीको आदेशमा तालिबान समूहले हिंसामा न्यूनीकरण गरेबमोजिम हरेक दुई सातामा पाँच सय जनाको दरले मुक्त गरिने उल्लेख छ। काबुलमा शान्ति वार्ताको परिस्थिति जेसुकै भए पनि राष्ट्रपति घानी र उनका प्रतिस्पर्धी अब्दुल्ला अब्दुल्लाबीच जारी राजनीतिक शक्ति संघर्षले वातावरण धमिलो बनाएको छ।

दुवैले राष्ट्रपतिको चुनाव जितेको दाबी गर्दै दुई भिन्न कार्यक्रमबीच राष्ट्रपतिको शपथ लिएका छन्। कतारको दोहामा गत महिना संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच सम्पन्न सम्झौताको सर्तमा १४ महिनाको अवधिभित्र अमेरिकीसमेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ।

तर, यसको बदलामा तालिबानीले सुरक्षाको प्रत्याभूति गर्नु पर्नेछ। सम्झौताअन्तर्गत अमेरिकाले जुलाईको मध्यसम्ममा अफगानिस्तानमा तैनाथ कूल १३ हजार सैनिकमध्येबाट आठ हजार ६ सय मात्र राख्ने र बाँकी करिब पाँच हजार फिर्ता गर्ने उल्लेख छ।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:४३ बिहीबार

असरफ_घानी तालिबान_लडाकु