अन्तर्राष्ट्रिय

ग्रिसले अवैध आप्रवासीलाई फिर्ता पठाउने कास्टानिज

फागुन – ग्रिसले यही मार्च १ पछि अवैधरूपमा ग्रिस प्रवेश गरेका आप्रवासीलाई उनीहरू आएकै स्थानतर्फ फर्काउने जनाएको छ। उनीहरू छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रिस प्रवेश गरेका थिए। ग्रिसका आप्रवासमन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रिस पुगेकाहरूलाई पक्राउ गरी उनीहरूकै देशतर्फ फर्काइने जानकारी दिए।

टर्कीले गत फेब्रुअरी २८ मा आफ्नो भूमिमा लामो समयदेखि रहेका आप्रवासीमध्ये टर्की प्रवेश गर्न चाहनेमाथि कुनै कारबाही नगर्ने वा नरोक्ने घोषणा गरेको थियो। यही मौकामा कम्तीमा १० हजार व्यक्ति ग्रिस प्रवेशका लागि सीमा क्षेत्रमा भेला भएका थिए।

युरोपेली युनियनसँग टर्कीले सन् २०१६ मा गरेको सम्झौतामा यी आप्रवासीलाई ग्रिस वा युरोपेली मुलुकमा अवैध प्रवेश गर्न नदिने उल्लेख थियो। टर्कीले आप्रवासीमाथि खुकुलो नीति लिएसँगै सयौं व्यक्ति ग्रिस पुगिसकेका छन्। उनीहरूमध्ये अधिकांश सामुद्रिक मार्ग हुँदै ग्रिसको लेसबोस पुगेका छन् भने केही व्यक्ति ग्रिसका अरु द्विपमा पुगेका छन्।

टर्की र ग्रीसले पछिल्लो समय एकअर्कामाथि आप्रवासीमाथि ज्यादती गरेको आरोप लगाइरहेका छन्। सीमा क्षेत्रमा भेला भएका आप्रवासीमाथि दुवैै देशका सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको छ। ग्रिसका आप्रवासमन्त्री मिटाराचीले भने, ‘हाम्रो उद्देश्य अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउनु हो।’ उनले सन् २०१९ को जनवरी १ भन्दाअघि ग्रिस पुगेका र विभिन्न द्विपमा छरिएर बसिरहेका आप्रवासीलाई आगामी दिनमा एकै थलोमा ल्याइने पनि बताए।

ग्रिसले गत मार्च १ मा आप्रवासका लागि आवेदन दिए पनि कुनै पनि निवेदनलाई स्वीकार नगरिने घोषणा गरेको थियो। तर, ग्रिसको उक्त कदमप्रति विभिन्न मानव अधिकार संस्थाहरूले आलोचना गरेका छन्। ग्रिसको लेसबोसमा यसअघि नै २० हजारभन्दा बढीले आश्रय लिइरहेका छन्।

टर्कीले सीमा क्षेत्रमा गोली चलाउँदा एक जना आप्रवासीको मृत्यु भएको र अरु पाँच जना घाइते भएको आरोप लगाएको छ। तर, ग्रिसले उक्त आरोपको खण्डन गरेको छ। ग्रिसका अनुसार टर्कीको प्रहरीले अश्रुग्यास प्रहार गरी आप्रवासीलाई ग्रीसको सीमाभित्र प्रवेश गराउन मद्दत गरिरहेको छ।

  सिरियाको इदलिबमा रसिया समर्थित सिरियाली हवाई आक्रमणमा टर्कीका ३३ जना सैनिक मारिएपछि पछिल्लो संकट उत्पन्न भएको हो। इदलिबमा जारी सिरियाली बम हमला रोक्न युरोप र अमेरिकाले पर्याप्त ध्यान नदिएको टर्कीको आरोप छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:१९ शुक्रबार

आप्रवासी ग्रिस