अन्तर्राष्ट्रिय

क्यामरुनमा पृथकतावादीहरू मारिए

क्यामरूनमा सुरक्षार्थ खटिएका सैनिक।

याउन्डे – अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अंग्रेजी भाषी क्षेत्रमा दस जना पृथकतावादी आतंकवादीहरू मारिएको क्यामरुन सरकारले जनाएको छ। सैनिक कारबाहीमा ती आतंकवादी मारिएको बताए पनि केही सञ्चारमाध्यमले मारिने व्यक्तिहरू सर्वसाधारण रहेको बताएका छन्।

बहुसंख्यक फ्रान्सेली भाषी क्यामरुनका दुई अंग्रेजी भाषी प्रान्तहरूमा सशस्त्र पृथकतावादी आन्दोलन सन् २०१७ देखि जारी छ। सञ्चारमन्त्री रेनी इमानुएल साडीले सोमबार जारी गरी विज्ञप्तिमा ‘जनरल फायरम्यान’ भनेर चिनिने पृथकतावादी कमान्डर पनि मारिएको उल्लेख छ। विभिन्न अनलाइन सञ्चारमाध्यमले सप्ताहान्तदेखि सैनिक कारबाहीमा स्थानीय महिला र बालबालिकासहित १० जना निहत्था सर्वसाधारणको मृत्यु भएको बताइएको छ।

सरकारले भने अनलाइनले झुटा समाचार प्रशारित गरेको बताउँदै सेनामाथि लगाइएका आरोप ‘पूर्ण निराधार, यथार्थको विपरीत’ रहेको जनाएको छ। दुई पक्षबीचको लडाइँ र प्रतिशोधपूर्वक नागरिकहरूमाथिको हमलाले तीन वर्षे द्वन्द्वका क्रममा दुई पश्चिमी क्षेत्रमा तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ह्युमन राइट्स वाचले पनि क्यामरूनको सेनाले उत्तर पश्चिम क्षेत्रको दुर्गम क्षेत्रमा फेबु्रअरी १४ मा कम्तिमा २१ जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएको छ। सेनाले उक्त आरोपलाई अस्वीकार गरेको छ।

प्रकाशित: २१ फाल्गुन २०७६ ०३:३० बुधबार

क्यामरून आतंकवादी सैनिक