अन्तर्राष्ट्रिय

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ: ट्रम्प

फाइल तस्बिर

नयाँ दिल्ली (एएनआई) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका सशक्तरूपमा उभिने प्रतिबद्धता जनाएका छन्।

भारत भ्रमणका क्रममा मंगलबार गान्धीको समाधिस्थल राजघाटमा पुगेका ट्रम्पले उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै यस्तो बताएका हुन्।

समाधिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा ट्रम्पले लेखेका छन्, ‘स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नुभएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टिकोणप्रति अमेरिकी जनता सशक्तरूपमा उभिन्छन्, यही नै तपाईंप्रति श्रद्धासुमन छ।’

महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएकी थिइन्। त्यहाँ दुवैले एक मिनेट मौन धारण गरेका थिए। सो अवसरमा राष्ट्रपति ट्रम्प दम्पतिलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहारस्वरूप प्रदान गरेका थिए।

राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले वृक्षरोपण पनि गरेका थिए। दुई दिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएका थिए।

रंगशालामा ‘नमस्ते ट्रम्प’ नाम दिइएको भव्य कार्यक्रममा राष्ट्रपति ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका थिए।

आफ्नो कार्यकालको अन्तिम वर्ष भारत भ्रमणमा आएका ट्रम्प मंगलबार राति स्वदेश फर्कने कार्यक्रम रहेको छ। ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरूले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:५९ बुधबार

डोनाल्ड_ट्रम्प भारत_भ्रमण