अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आएका छन्। राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ। ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन्। राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए।
     मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन्। यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ। भ्रमणमा राष्ट्रपतिका साथ उनकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहेका छन्।    
विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा पुगेका छन्। उनले आश्रममा रहेको ‘हृदय कुञ्ज’मा चर्खा घुमाएका छन्।

प्रकाशित: १२ फाल्गुन २०७६ ०९:४८ सोमबार

ट्रम भ्रमण छिमेक