अन्तर्राष्ट्रिय

टर्कीमा भूकम्प, सातको मृत्यु

स्तानबुल (एएफपी) – टर्कीमा भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुका अनुसार मृत्यु भएकामध्ये तीन बालबालिका रहेका छन्।

भूकम्पका कारण पाँच जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको मन्त्री सोयलुले जानकारी दिए।

भूकम्पपछि भत्किएका भौतिक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको छ। पुरिएकाको खोजी भइरहेको पनि उनले बताए।   

छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको हो। अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ।
भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:४४ सोमबार

टर्की भूकम्प