अन्तर्राष्ट्रिय

चीनमा नयाँ संक्रमण घट्दो : चिनियाँ अधिकारी

चीनको वुहान रेडक्रस अस्पतालमा पुरुषको शरीरको तापक्रम मापन गर्दे स्वास्थ्यकर्मी। फाइल तस्बिर : नागरिक

बेइजिङ – चिनियाँ अधिकारीहरूले कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणको केन्द्रविन्दु हुबेई प्रान्तमा नयाँ संक्रमणको दर ह्वात्तै घटिरहेको बताएका छन्। अधिकारीका अनुसार बुधबार तीन सय ४९ जनामा नयाँ संक्रमण भेटिएको छ। यस्तै, मंगलबार नयाँ संक्रमितको संख्या एक हजार सात सय रहेको बताइएको थियो।

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट चीनमा दुई हजार एक सय १८ को मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन्। रोग संक्रमणबाट गत मंगलबार एक सय ३६ र बुधबार एक सय १४ जनाको मृत्यु भएको थियो। चीनमा रोगबाट संक्रमितको संख्या ७४ हजार पाँच सय ७६ व्यक्ति संक्रमित भएका छन्। रोगको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन्।

संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।   चीनको हुबेई प्रान्तमा यस रोगबाट बढी नागरिक प्रभावित छन्। यस रोगबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका समाचारमा जनाइएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०३:१३ शुक्रबार

कोरोना_भाइरस संक्रमण केन्द्रविन्दु