अन्तर्राष्ट्रिय

अमेरिकी र जापानीसहित कोरोनाबाट ७२२ जनाको मृत्यु

बेइजिङ– चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७ सय २२ पुगेको छ। मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले ६० वर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन्।

त्यसैगरी अर्का एक जना ६० वर्षिय नै जापानीको पनि कोरोना भाइरसकै कारण उहानमै मृत्यु भएको छ। जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ।    

सरकारी अधिकारीहरुका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ। कोरोनाका कारण चीन बाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ। उनीहरु दुवै जना चिनियाँ नागरिक नै हुन्।

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार उहानमा पहिलो पटक देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ। विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएका छन् भने तीन देशमा कुल ३ सय २० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ। देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताए।

अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाई छ। एएफपी

प्रकाशित: २५ माघ २०७६ १०:०५ शनिबार

अमेरिकी जापानी कोरोना