अन्तर्राष्ट्रिय

चीनबाट ६४० भारतीयकाे उद्धार

नयाँ दिल्ली, (एएनआई) – भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ। उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि भारतसम्म ल्याउन सहयोग गरिएको भारतीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।  

चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ।  ‘हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरूसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,’ मन्त्रालयका प्रवक्ता रविस कुमारले भने।

उनीहरुलाई दुई उडानमार्फत भारत ल्याइएको र उनीहरू अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उनले जानकारी दिए। पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार उद्धार गरिएकामध्ये कसैलाई पनि कुनै प्रकारको रोग देखिएको छैन। 

उनले यसलाई ठूलो उद्धारको रूपमा लिइएको बताए। उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उनले जानकारी दिए।

भारत फर्किन खोजेका अरु दस जना भने स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाइ छ। 

उनले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरुलाई चीनस्थित भारतीय दूतावास तथा सम्बन्धित अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गरे।

चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भाइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं संक्रमित भएका छन्।

प्रकाशित: २४ माघ २०७६ ०४:११ शुक्रबार

भारतीय उद्धार