अन्तर्राष्ट्रिय

चीनले अमेरिकी सामानमा कर कटौती गर्ने

बेइजिङ, (एएफपी) – चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ।

गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो। चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा कर वृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोधस्वरूप चीनले गत सेप्टेम्बरमा एक हजार सात सयभन्दा बढी किसिमका अमेरिकी वस्तुमा करवृद्धि गर्ने योजना सार्वजनिक गरेको थियो। ती सामानमा ५ र १० प्रतिशत कर लगाइएको थियो। दस प्रतिशत करको दायरामा मुख्यरूपमा ताजा सामुद्रिक खाना, कुखुरा र सोयाबिन रहेका थिए।

आयोगले जारी गरेको विज्ञप्तीमा चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ र स्थिर राख्ने प्रयत्न स्वरूप कर कटौती गरिएको उल्लेख छ। कर कटौतीको यो प्रस्ताव आगामी फेबु्रअरी १४ देखि नै लागू हुने आयोगको भनाई छ। अमेरिकी प्रशासनले पनि करिब १२० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा थप कर नलिने घोषणा गर्ने अपेक्षा गरिएको छ। तथापि, विगतमा घोषणा गरिएका कतिपय करवृद्धिका प्रस्ताव यथावत रहने दुवै पक्षले जनाएका छन्। अमेरिका र चीनले गत जनवरीमा व्यापार युद्धलाई मत्थर बनाउन र समझदारी विकास गर्न आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। सम्झौतामा आगामी दुई वर्षभित्र दुई सय अर्ब अमेरिकी डलरभन्दा बढीका अतिरिक्त सामान चीनले आयात गर्ने उल्लेख छ। पहिलो चरणको आंशिक सम्झौता अनुसार, अमेरिकाले एक सय २० अर्ब डलर मूल्य बराबरका चिनियाँ सामानमा लगाइने करलाई आधा कटौती गरी ७.५ प्रतिशत कायम गर्नेछ। गत डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय चीनसँगको सम्बन्ध निकै प्रगाढ रहेको र निरन्तर सुधारतर्फ अग्रसर भएको बताउँदै आएका छन्।

प्रकाशित: २४ माघ २०७६ ०३:५३ शुक्रबार

चीन अमेरिका कर_कटौती