अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु

बेइजिङ– विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या शनिबारसम्म २ सय ५९ पुगेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिकरूपमा यससम्बन्धी विवरण सार्वजनिक गर्ने गरेको छ ।

बिरामी भएकामध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । आयोेगका अनुसार १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसको संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ । उनीहरूको परीक्षणको नतिजा भने आइनसकेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस्तै, बिरामी भएकामध्ये २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार शुक्रबार मात्रै २१ सय २ जना नयाँ संक्रमित भेटिएका छन् भने ५ हजार १९ जनाको परीक्षण भइरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्रै थप ४६ जनाको मृत्यु भएको छ, तीमध्ये ४५ जना हुवेई प्रान्तका र एक चोङक्विङ नगरपालिकाका रहेको बताइएको छ ।

स्वास्थ्य अधिकारीले शुक्रबार २ सय ६८ जना गम्भीर बिरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् । चीनकोे मध्य क्षेत्रमा पर्ने उहान सहरमा सबैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशमा फैलिइसकेको छ । भाइरसको प्रकोप फैलिदै गएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

यस्तै, विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतलाई कडाई गरेका छन् । संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । सिन्ह्वा
 

प्रकाशित: १९ माघ २०७६ ०४:२७ आइतबार

कोरोना_भाइरस