अन्तर्राष्ट्रिय

जापानमा फोहोर खाद्यान्नबाट बिजुली

टोकियो – जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ। जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै ‘जे बायो फुड रिसाइकल’ कम्पनी खडा गरेको छ।

यस कम्पनीले अगस्ट २०१८ मा घर, रेस्टुरेन्ट तथा होटलमा खेर गएको खानाबाट बायोग्यास बनाउने परियोजना सुरु गरेको थियो। जेएफई इन्जिनियरिङका अध्यक्ष हाजिमे ओशिताले औद्योगिक र फालिएको खानाको प्रयोग गरी एकीकृत सेवा सुुरु गरिएको जानकारी दिए। उनले कम्पनीले हाल फोहोर संकलन, फोहोर विसर्जन, ऊर्जा उत्पादन र विद्युत बिक्री थालेको बताए।

ओशिताले भने, ‘यस्ता परियोजना जापानमा विरलै देख्न पाइन्छ। यो परियोजनाले वातावरण, ऊर्जा र रिसाइकल गरी तीन वटा मुख्य पक्षलाई आत्मसात गरेको बताइएको छ। सबै किसिमका स्रोतको प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने नमुना देखाउन हामीले चाहेका छौं र यो सफल पनि भएको छ।’

यस परियोजनामा हरेक दिन ८० टन फोहोर खाद्यान्नलाई सूक्ष्म जीवीय विधिद्वारा प्रशोधन गरिन्छ र मिथेन ग्यासको प्रयोगबाट विद्युत उत्पादन हुन्छ। खाद्यान्न कारखाना र अरु ट्रेन स्टेसनमा जम्मा हुने खाद्य फोहोरलाई संकलन गर्ने कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ। फोहोर उठाउँदा आउने सिसा, प्लास्टिक जस्ता नगल्ने फोहोरलाई छुट्याइएपछि खाद्यान्नलाई कुहाउने प्रक्रिया सुरु हुन्छ र अन्तमा बायो ग्यास तयार हुन्छ।

मिथेनसँगको मिश्रणपछिको बायोग्यासको सहयोगमा विद्युत् उत्पादन गरिन्छ। यो विद्युतलाई नवीकरणीय ऊर्जाका रूपमा बिक्री गरिन्छ। ‘जे बायो फुड रिसाइकल’का निर्देशक सातोरु उडागावाले कम्पनीसँग हाल चार लाख घनमिटरका ठुल्ठूला ग्याँस भण्डारण ट्यांकहरू रहेको बताए।

प्रकाशित: १७ माघ २०७६ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App