अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

इस्लामावाद (सिन्ह्वा) – पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ। अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो।

‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइसा फारुकीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताए।

‘हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौँ, अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौँ,’ उनले भने।

नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो संख्यामा आमनागरिक तथा सवारीसाधनहरू सीमा क्षेत्रमा अलपत्र परेको पत्रकार राहत शिन्वारीले बताए। ‘नाका अहिले बन्द अवस्थामा रहेको छ,’ शिन्वारीले भने।

अफगानिस्तानको पूर्वी नान्गाहर प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन्। नानगाहरका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीबीचमा नाका पुनः खुला गर्नेबारेमा कुरा भएको खोग्यानीको भनाइ छ।

प्रकाशित: १६ माघ २०७६ ०४:३७ बिहीबार

पाकिस्तान अफगानिस्तान नाका बन्द