अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान खसालेको तालिवानको दाबी

गजनी, (एएफपी) – अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरूले खसालेको तालिबान समूहले दाबी गरेको छ। तर पनि सो दुर्घटनाग्रस्त विमान तालिवानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ। अफगान अधिकारीहरूले पनि सो भनाइ सत्य नरहेको बताएका छन्।

गजनीमा सोमबार दुर्घटनामा परेको विमान अमेरिकी यात्रुवाहक विमान थियो वा सैनिक विमान भन्नेबारेमा भने कुनै जानकारी दिइएको थिएन।

अफगानिस्तानको स्थानीय समयानुसार सोमबार दिउँसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त भएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयवासीले जानकारी गराएका थिए।

अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिवानहरूको संगठनका प्रवक्ता जबिउल्लाह मुजाहिदले मंगलबार ट्विट गर्दै तालिवान संगठनका लडाकूले सोमबार गजनी प्रान्तमा एक अमेरिकी विमान खसालिदिएको बताएका छन्।

उनले आफ्नो संगठनका प्राविधिक लडाकूले क्षेप्यास्त्रका माध्यमबाट सो विमान खसालेको बताएका छन्। उनले उक्त विमान अमेरिकी गुप्तचर निकायको रहेको र त्यसमा अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरू रहेको बताएका छन्। सो विमानमा ती सबै अधिकारी मारिएको प्रवक्ता मुजाहिदले जानकारी दिए। उनले विमानमा रहेका गुप्तचर निकायका वरिष्ठ अधिकारी मारिएका र उनीहरूको शव विमान खसेको वरपर छरिएर रहेका ट्विटरमा लेखेका छन्।

उनको भनाइको अमेरिकाले भने खण्डन गरेको छ। सो विमानको दुर्घटनाको प्रकृति हेर्दा तालिवानहरूले क्षेप्यास्त्र हानेर वा अन्य कुनै बाह्य कारणले विमान खसेको जस्तो नदेखिएको उनीहरूको भनाइ छ। अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिवानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताए।

अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान र त्यसको सुरक्षा पनि विशेष किसिमको हुने भनिन्छ। भौगोलिक विकटताका कारण यहाँ धेरै दुर्घटना हुने गरेको पनि पाइन्छ।  

अफगानिस्तानमा सन् २०१० मा पामिर एयरवेजको यात्रुवाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा चालकदलका ६ सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो। विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। त्यसयता पनि यहाँ साना विमान र हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन्।

यस पटकको यस विमानमा भएको क्षतिको बारेमा केही बताइएको छैन। सुरक्षा अधिकारीले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन्।

प्रकाशित: १५ माघ २०७६ ०४:३७ बुधबार

अफगानिस्तान दुर्घटनाग्रस्त_विमान तालिवान