अन्तर्राष्ट्रिय

बुहान हुँदै यात्रा नगर्न चिनियाँ अधिकारीको आग्रह

चीन – चिनियाँ अधिकारीहरूले कोरोना भाइरसको प्रकोप फैलिइरहेको चीनको बुहान सहरबार बाहिर नजान र बाहिरबाट बुहानमा समेत यात्रा नगर्न आग्रह गरेका छन्। खतरनाक मानिएको उक्त नयाँ भाइरसका कारण हालसम्म ९ जनाले ज्यान गुमाएका छन् भने ४४० जनामा उक्त रोगको संक्रमण भएको पुष्टि भएको छ। चीनका विभिन्न सहरसहित अमेरिका, थाइल्यान्ड र दक्षिण कोरियामा समेत भाइरसको संग्रमण फैलिएको छ। चिनियाँ अधिकारीहरूले बुहानमा भिडभाडमा सहभागी नहुन र सार्वजनिक स्थानमा जम्मा नहुनसमेत नागरिकलाई आग्रह गरेका छन्।

‘सकेसम्म बुहान नजानुस् र जो बुहानमा बस्नुहुन्छ कृपया सहर छोडेर बाहिर नजानुस्,’ राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री लि बिनले भनेका छन्। चिनियाँ अधिकारीहरूले मुलुक अहिले उक्त भाइरसको निवारण र नियन्त्रणका हिसाबले अत्यन्तै नाजुक रहेको स्वीकार गरेका छन्।  चीनले साताको सुरुमा उक्त भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टि गरेको थियो। २०१९–एन कोभिका रूपमा परिचित उक्त भाइरस यसअघि मानिसमा देखिएको थिएन।

सन २०००को सुरुवातमा विश्वभरमा झन्डै आठ सय जनाले ज्यान गुमाएको सास भाइरस पनि कोरोना भाइरसकै प्रजाति भएको विज्ञहरू बताउँछन्। कोरोनाको संक्रमण भएकाहरूमा ज्वरो, खोकी, अक्सिजनको कमी तथा श्वासप्रश्वासमा समस्या हुने लगायतका लक्षण देखिने गर्छन्।

उपमन्त्री लिले कोरोना भाइरस मुख्यगरी श्वासप्रश्वासका माध्यमबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको पाइएको जनाएका छन्। सामान्यतया खोकी तथा हाच्छियुँका कारण यसको भाइरस फैलिने सम्भावना उच्च हुने उनको भनाइ छ। तर, चीनले अहिले पनि यो भाइरसको मुख्य स्रोतबारे अहिले पनि पुष्टि गरेको छैन। ‘भाइसर कसरी सर्छ भन्ने कुरा अहिले पनि पूर्णरूपमा बुझ्न सकिएको छैन, यो प्रकोपका रूपमा फैलने खतरा देखिएको छ,’ उनले भने।

अहिले चिनियाँ नयाँ वर्ष लुनारको समय भएको र हजारौँ मानिस विदेश भ्रमण गर्ने भएकाले रोग तीव्र गतिमा फैलिने खतरा बढेको र नियन्त्रणमा चुनौती थपिएको उपमन्त्री लि बताउँछन्।  बुहानका मेयरले समेत अति आवश्यक नभएसम्म बुहान भ्रमण नगर्न सुझाव दिएका छन्।

अमेरिकामा समेत मंगलबार पहिलो पटक उक्त भाइरसबाट संक्रमित व्यक्ति भेटिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिति पूर्णरूपमा नियन्त्रणमा रहेको बताउँदै चिनियाँ अधिकारीले उपलब्ध गराएको सूचनामाथि विश्वास भएको बताएका छन्।

अमेरिकाले उक्त भाइरसलाई मध्यनजर गर्दै मुख्य विमानस्थलहरू सन फान्सिस्को, लस एन्जल्स र न्यूयोर्कमा हवाइ यात्रुको जाँच सुरु गरेको छ। उक्त भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतको राजधानी नयाँ दिल्लीसहित मुम्बई, चेन्नई, बेलगुरी, हैदरावाद, कोच्ची र कोलकत्ता विमानस्थलमा समेत चेकजाँच सुरु गरिएको छ। चीन र हङकङबाट फर्किने यात्रुहरूमा जाँचमा कडाइ गरिएको छ।

प्रकाशित: ९ माघ २०७६ ०२:११ बिहीबार

भाइरस अमेरिका