अन्तर्राष्ट्रिय

'यात्रु विमान खसालिएकोबारे इरानी सैनिकले प्रष्टीकरण दिनुपर्छ'

लन्डन (बीबीसी) – इरानी राष्ट्रपति हसन रौहानीले यात्रु विमान खसालिएकोबारे इरानी सैनिकले थप प्रष्टीकरण दिनुपर्ने बताएका छन्।

परराष्ट्रमन्त्री मोहमद जभाद जारिफले घटनाको धेरै दिनसम्म इरानी जनतालाई ढाँटिएको स्वीकार गरेका छन्। जारिफले उनी र राष्ट्रपतिलाई यो बिषयमा जानकारी नदिइएको बताए। अमेरिकासँग बढ्दो तनावको पृष्ठभूमिमा इरानको रिभुलुसनरी गार्डले युक्रेनको एक जहाजलाई मिसाइल हानेर झारेका थिए। जसबाट १७६ यात्रुको ज्यान गएको थियो।

जहाजमा मिसाइल हानेको केही घण्टाअघि मात्र इराकमा रहेको अमेरिकी सैन्यअड्डामा इरानले मिसाइल प्रहार गरेको थियो। ‘म र राष्ट्रपति दुवैलाई जहाज किन झारियो भन्नेबारे जानकारी थिएन, जब हामीलार्ई थाहा भयो, तब यसलाई सार्वजनिक ग-यौं,’ इरानी परराष्ट्रमन्त्रीले भारत भ्रमणको क्रममा दिएको एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्।

उनले सो घटनाको जिम्मेवारी लिने साहस गरेकोमा इरानी सैनिकको प्रशंसासमेत गरेका छन्। तर, आलोचकले घटना घटेको तीन दिनसम्म पनि सो कुरा सार्वजनिकरूपमा जानकारी नगराइएको भन्दै इरानको आलोचना गरेका छन्। उनीहरूले पश्चिमी अधिकारीहरूले यात्रुवाहक जहाजलाई मिसाइल हानिएको प्रमाण फेला पारेको बताएपछि मात्र सो घटनाको जिम्मेबारी लिएका थिए।

गत साताको बुधवार तेहरानबाट उडेको जहाजलाई इरानको रिभुलुसनरी गार्डले खतराको आशंका गर्दै यात्रुवाहक जहाजलाई मिसाइल हानेर झारेको थियो। इरानको इस्लामिक व्यवस्थाको संरक्षणको लागि गार्ड स्थापना गरिएको हो। यात्रुवाहक जहाजलाई मिसाइल आक्रमण गरिएपछि भएको यात्रुको अकाल मृत्यु र सुरुमा घटनालाई ढाकछोप गरिएको भन्दै इरानका विभिन्न सहरमा विरोध प्रदर्शन भएका थिए। प्रदर्शनकारीले जहाज दुर्घटना भएको ठाउँमा बुल्डोजर लगाएर सबै प्रमाण नष्ट गरिएकोमा पनि रोष प्रकट गरेका थिए।

इरानको राजधानी तेहरानमा प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको पनि आरोप लगाइएको छ। इरानको सर्वाेच्च नेता आयोतोल्ला खमेनीले आन्तरिक तनाबलाई नियन्त्रण गर्न आउँदो शुक्रबार सम्बोधन गर्ने बताइएको छ।

गत बुधबार इराकमा रहेका अमेरिकी सैनिकको दुई बेसमा इरानले मिसाइल आक्रमण गरेको थियो। आफ्ना उच्च सैनिक अधिकारी कासिम सुलेमानीलाई अमेरिकाले हत्या गरेको विरोधमा यी मिसाइल आक्रमण भएका थिए। यात्रुवाहक जहाजलाई मिसाइल प्रहार गरेर खसाइए पनि सुरुमा इरानी अधिकारीले प्राविधिक कारणले सो घटना भएको बताएका थिए।

क्यानडा लगायतका पश्चिमेली मुलुकले यात्रुवाहक विमानलाई मिसाइल आक्रमण गरिएको बताएका थिए। विमानमा ५७ जना क्यानडेली नागरिक यात्रा गरिरहेका थिए। इरानले यो घटनाको जिम्मेवारी नलिए पनि गत शुक्रबार अबेर नै इरानले यात्रु विमानलाई एयर डिफेन्स सिस्टमले प्रहार गरेको भनी स्वीकार गरेको थियो।

परराष्ट्रमन्त्री जारिफले शुक्रबार मात्रै आफू र राष्ट्रपतिले सो घटनाको वास्तविकता थाहा पाएको जिकिर गरेका छन्। गार्डका व्रिगेडर जनरल अमिर अली हाजीजेडाले जहाजलाई गल्तीले सत्रुको क्रिउज मिसाइल रहेको ठानी प्रहार गरिएको बताए।

मंगलबार इरानका न्यायपालिकाका प्रवक्ता घोलाहोसेन इस्मालीले यात्रु विमानलाई मिसाइल प्रहार गर्न जिम्मेवार केही व्यक्तिलाई गिरफ्तार गर्न आदेश दिएका थिए। यसैगरी मंगलबार नै इरानी राष्ट्रपति रुहानीले घटनाको अनुसन्धान विशेष अदालतले गर्नुपर्ने निर्देशन दिएका छन्। इरानले आन्तरिकरूपमा सो घटनाको अनुसन्धान गरिरहेको छ। इरानले जहाजमा रहेको ब्ल्याक बक्सलाई जहाज निर्माता कम्पनी बोइङ र अमेरिकालाई उपलब्ध गराउन इन्कार गरेको छ।

यसैगरी रिभुलुसनरी गार्डले जहाजलाई मिसाइल आक्रमण भएका बेला भिडियो खिँच्ने एक व्यक्तिलाई गिरफ्तार गरेको छ। सो भिडियोलाई घटना भएको केही क्षणपछि नै सामाजिक संजालमा राखिएको थियो र त्यसले जहाजलाई मिसाइल प्रहार गरिएको बलियो प्रमाण दिएको हो।  सो भिडियो खिँच्ने व्यक्तिलाई राष्ट्रिय सुरक्षामा खतरा पु-याएको अभियोग लगाइने तयारी गरिएको बताइएको छ।

यता, भिडियो फुटेजलाई सुरुमा सामाजिक संजालमा राख्ने इरानका पत्रकार लन्डनमा सुरक्षित रहेको बताउँदै बेलायती अधिकारीले ‘फुटेज उपलब्ध गराउने व्यक्ति सुरक्षित रहेको र इरानी अधिकारीले गलत व्यक्तिलाई गिरफ्तार गरेको’ बताएका छन्।

यसैवीच, समाचार एजेन्सी एएफपीका अनुसार इरानी राष्ट्रपतिले बुधबार राष्ट्रिय एकताका लागि आह्वान गरेका छन्। यात्रुवाहक विमान मिसाइल आक्रमण गरिएको भनेर इरानमा भइरहेको विरोधलाई साम्य पार्न उनले सो आह्वान गरेका हुन्।

प्रकाशित: २ माघ २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App